जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाइयो : मन्त्री गहतराज – Nepal Press

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय लुकाइयो : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय हालसम्म लुकाइएको दाबी गरेका छन् ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा नै जनयुद्ध तथा जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरिएको र जुन निर्णय हालसम्म लुकाइएको दाबी गरेका हुन् । मन्त्री गहतराजले उक्त निर्णयलाई वर्तमान सरकारले पूर्णता दिने बताए ।

राष्ट्रिय युवा परिषद्अन्तर्गतको सहिद तथा बेपत्ता योद्धा सन्तती युवा सञ्जालद्धारा शनिबार काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा उनले समाज रुपान्तरणका लागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय सहिदका रुपमा सम्मान दिनुपर्ने बताए ।

‘व्यवस्था परिवर्तनका लागि आफ्नो जीवनको बलिदान दिने महान सहिद तथा बेपत्ता योद्धाहरुकै कारण नेपालमा गणतन्त्र स्थापना भएको हो’, माओवादीका नेतासमेत रहेका उनले भने, ‘लामो संघर्षपछि प्राप्त व्यवस्था उल्टाउन पछिल्लो समय भित्री तथा बाहिरी तत्व लागिपरेका छन् । त्यसैले प्राप्त सम्पूर्ण उपलब्धि जोगाउने जिम्मेवारी युवाहरुको काँधमा आएको छ ।’

आफ्ना पुर्खाहरुले जीवन त्यागेर दिलाएको उपलब्धिप्रति युवाहरुले गर्व गर्न सक्नुपर्ने मन्त्री गहतराजको भनाइ छ । उनले सहिद तथा बेपत्ता योद्धा सन्तती युवा सञ्जालमा नेपालमा भएका सबै संघर्षका घाइते, अपाङ्ग तथा तिनका सन्ततीहरुलाई गोलबद्ध गर्नसमेत सुझाव दिए ।

सहिद तथा बेपत्ता योद्धा सन्तती युवा सञ्जालकी अध्यक्ष आरती शर्माको अध्यक्षतामा सञ्चालित गोष्ठीमा विभिन्न जिल्लाका २५ बढी युवाको सहभागिता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर