एमाले सरकार ढालेर कांग्रेस नेतृत्वको सरकारमा जानेहरु कसरी कम्युनिष्ट ?– उपाध्यक्ष पौडेल – Nepal Press

एमाले सरकार ढालेर कांग्रेस नेतृत्वको सरकारमा जानेहरु कसरी कम्युनिष्ट ?– उपाध्यक्ष पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी अध्यक्ष प्रचण्डलगायतका केही नेताले कांग्रेससँग गठबन्धनमा बार्गेनिङ गर्न एमालेले प्रधानमन्त्री प्रस्ताव गरेको भ्रामक विषय बाहिर ल्याएको बताएका छन् ।

एमाले अहिले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको प्रस्ट पार्दै उनले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको दावी गरे ।

शनिबार बुटवलमा रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै प्रचार गरेका छन् । यो नेपाली कांग्रेससँग बार्गेनिङबाहेक अरु केही फण्डा होइन, एमालेले अहिले कुनै पनि दलका नेतालाई प्रधानमन्त्री स्वीकार नगर्ने स्पष्ट पार्न चाहन्छु ।’

नेकपाको दुईतिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गर्ने र उनीहरुसँग गठबन्धन हुने विषय एमालेले सोच्न पनि नसकिने उनको जिकिर थियो । ‘नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउने कम्युनिष्ट पार्टीको सदस्य हुनै सक्दैनन्’, नेता पौडेलले भने, ‘त्यसैले अहिलेको अवस्थामा कुनै पनि गठबन्धन हुने संकेत छैन । त्यस्तो भ्रमको पछाडि नलाग्न आग्रह गर्दछु ।

स्थानीय तह निर्वाचनमा एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै लड्दा पनि मतको हिसाबले एमाले पहिलो दल बनेको उनको दाबी थियो । पौडेलले आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे ।

एमाले हार्दा देश र जनता दुबैले हार्ने भएकाले अब हार्ने छुटसमेत नभएको उनको भनाइ छ । उनले विदेशमा भन्दा नेपालमा लगानीको सम्भावना छ भन्ने सन्देश दिन रिटर्नीहरुले हरेक जिल्लामा सामूहिक रुपमा नमुना आयोजना सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरुलाई स्वदेशमै लगानी गरी आत्मनिर्भर र आत्मसम्मानको जीवन बिताउने योजना बनाउन आग्रह गर्दै त्यसको लागि आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रिटर्नी फेडेरेसन नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले परिवार र समाजको रहनसहनबाट टाढा रहेर २०÷२५ वर्षसम्म विदेशी भूमिमा रोजगारी गरेर फर्किँदा घुलमिल हुनसक्ने अवस्था नभएको बताए ।

आचार्यले नेपालका ५६ हजार घरधुरीको चुल्हो वैदेशिक रोजगारीबाट बल्ने र ५० लाख नेपाली कुनै न कुनै देशमा रोजगारीमा रहेको अवस्थामा सरकारले रिटर्नीहरुलाई स्वदेशमै फर्काउने गरी विशेष योजना बनाउनुपर्ने सुझाव दिए ।

प्रदेश भेलामा लुम्बिनीका १२ जिल्लाका रिटर्नीहरुको सहभागिता रहेको लुम्बिनी प्रदेशका संयोजक हीरा खरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर