माओवादीका जनप्रतिनिधिहरुलाई नेता पुनको चेतावनी- स्थानीय तहमा भ्रष्टाचारजन्य गतिविधि पार्टीलाई सह्य हुन्न – Nepal Press

माओवादीका जनप्रतिनिधिहरुलाई नेता पुनको चेतावनी- स्थानीय तहमा भ्रष्टाचारजन्य गतिविधि पार्टीलाई सह्य हुन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आफूले जितेका स्थानीय तहमा भ्रष्टाचार शून्य बनाउन निर्देशन दिएका छन् ।

पार्टीको अर्थ तथा योजना विभागले आयोजना गरेको भर्चुअल बैठकमा विभाग प्रमुखसमेत रहेका पुनले स्थानीय तहका जनप्रतिनिधिलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले सस्तो लोकप्रियताका लागि राज्य स्राेतको परिचालन नगर्न जनप्रतिनिधिलाई सुझाव दिँदै स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

उनले कम्तीमा माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगर्न र कुनै न कुनै काममार्फत् ती स्थानीय तहलाई नमुना बनाउन सुझाव दिए ।

स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिँदै नेता पुनले जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको बताए ।

उनीहरूलाई बल पुग्ने गरी स्थानीय तहमा भ्रष्टाचारजन्य गतिविधि भए पार्टीलाई सह्य नहुने उनले चेतावनीसमेत दिए । माओवादी जनयुद्धबाट आएकाले जनयुद्धसँग सम्बन्धित कार्यक्रमहरू जनयुद्ध दिवस, घाइते र अपांगको निःशुल्क उपचार, सहिद परिवारलाई राहत र रोजगारी दिनु आफूहरूको दायित्व भएकाले बजेटमा ती विषय नछुटाउन उनले सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर