चार मन्त्रीको पीए बनेका भिमकान्त, सांसद बन्ने सपना अकुत सम्पत्तिले उडायो – Nepal Press

चार मन्त्रीको पीए बनेका भिमकान्त, सांसद बन्ने सपना अकुत सम्पत्तिले उडायो

जागिर छाडेको २ वर्षमै ६ करोड बढी स्रोत नखुलेको सम्पत्ति, नेताकाे पैसा चलाएको आशंका

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड रुपैयाभन्दा बढी स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ३० वर्षीय भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी चर्चामा छन् ।

नायव सुब्बा सरहको जागिर छाडेर २ वर्षअघि बिथ ल्याबमार्फत व्यवसायमा लागेका भण्डारीले यति छोटो अवधिमा अकुत सम्पत्ति कसरी आर्जन गरे ? अख्तियार अझै छानविनमै छ,तर उनले स्रोत खुलाउन नसकेको सम्पत्ति प्रभावशाली नेताहरुको हुनसक्ने आशंका गरिएको छ ।

३० वर्षीय भण्डारी ६ वर्षअघि अर्थात २०७३ असोजमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको ग्रामीण विकास प्रशिक्षण केन्द्रमा वरिष्ठ व्यवस्थापन सहायकका रुपमा नियुक्त भएका थिए । उनले २०७७ साउन १ गते सो पदबाट राजीनामा दिएको देखिन्छ ।

हेर्नुस् राजीनामाको जानकारी

ग्रामीण विकास प्रशिक्षण केन्द्रमा रहेकै बेला उनी माओवादी नेता हितराज पाण्डे स्थानीय विकास मन्त्री हुँदा काजमा झापाबाट मन्त्रालयमा आएका थिए । माओवादी वृत्तमा उनको अस्वभाविक विकास र पहुँच बढ्दै गयो ।

पाण्डेलाई तत्कालीन कांग्रेस माओवादी गठबन्धनको भागबण्डा मिलाउन स्थानीय विकासबाट पशुपन्छी मन्त्रालयमा सरुवा गरिएपछि उनले राजीनामा दिए । पाण्डे सरकारबाट बाहिरिए पनि भण्डारी बाहिरिएनन् । उनी काजमा ग्रामीण विकास प्रशिक्षण केन्द्रमा फर्किनुपर्नेमा अर्को मन्त्रालयमा पुगे ।

माओवादी नेतृ आशा कोइराला महिला बालबालिका तथा समाजकल्याणमन्त्री भएका बेला सोही मन्त्रालयमा काजमा गए । कोइरालापछि कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा उनी अर्थमै काजमा सरुवा भए भने परराष्ट्रमन्त्री हुँदा पनि त्यहिँ रहे ।

पछि तत्कालीन नेकपाको सरकारका बेला वर्षमान पुन ऊर्जामन्त्री भएको केही समयपछि भण्डारी ऊर्जामै पुगे । उनले ऊर्जामन्त्रालयमा काजमा रहेकै बेला राजीनामा दिए ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६, साबिकको अर्जै गाविसका भण्डारी सामान्य परिवारका युवा हुन् । उनी शहर पसेपछि माओवादी सम्पर्कमा गए । उतैबाट जागिरे भए र हेर्दाहेर्दै करोडौंको कारोबारी भएपछि गाउँमा उनको चर्चा चल्न थाल्यो ।

दुई तीनवटा हाइड्रोपावर,बिध ल्याब,माडीमा खानी उद्योग र आइटी कम्पनी समेत चलाएको कुरा गाउँमा चलेसँगै उनी माओवादी नेताको रुपमा गुल्मीमा आउजाउ गर्न थाले । माओवादीका गाउँ अधिवेशनहरुमा पूर्व मुख्यसचिव लिलामणी पौडेल र भिमकान्त  यसपटक नयाँ र चर्चित पात्र थिए ।

मालिका गाउँपालिकामा गठबन्धनलाई जिताउन ठूलो धनराशी खर्च गरेका भिमकान्त जिल्लाका अरु पालिकामा समेत खटिए । उनलाई आउने निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट माओवादी उम्मेदवारका रुपमा समेत चर्चामा ल्याइयो ।

लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका माओवादी नेता सुदर्शन बराल,जिल्ला नेता बुद्धि जिसी लगायतको गाँस बास कपासको व्यवस्था समेत आफूले गर्ने भएकाले टिकटको चिन्ता नरहेको भण्डारी बताउँथे । केन्द्रमा महरा, वर्षमान पुन लगायतका नेताहरु भएकाले टिकटको उनलाई चिन्ता थिएन । पछिल्लो समय उनी मल आयातको व्यवसायमा समेत थिए ।

भिमकान्तले यति छोटो अवधिमा करोडौं कसरी कमाए भन्ने प्रश्न धेरैले गरिरहेका थिए । अचानक अख्तियारले उनीमाथि अकुत सम्पत्तिको मुद्दा दर्ता गरेपछि यहाँ खैलाबैला मच्चिएको छ । उनले मुख खोले भने धेरै नेता अप्ठेरोमा पर्ने चर्चा जिल्लामा छ ।

बिधले ल्यायो चर्चामा

२०७७ साउन १ गते नासु सरहको जागिरबाट राजीनामा दिएर एकाएक बिध ल्याबको सञ्चालक बनेपछि भिमकान्त चर्चामा आए । उनी त्यतिन्जेल तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयमा काजमा थिए ।

कोभिड महामारी र कडा लकडाउनको बेला राजीनामा दिएका भण्डारीले बिध ल्याब खोल्दा कोभिड परीक्षणका लागि निकै ठूलो समस्या थियो । विध ल्याबमा नेताहरुको लगानी रहेको चर्चा पनि चल्यो ।

स्वास्थ सेवा विभागबाट आरडीटी खरीद गर्ने र कोरोना परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्ने अनुमति पाउनु त्यसबेला सानो शक्तिबाट सम्भव थिएन । त्यतिबेला सो कम्पनीले अनुमति पाएको विषयमै प्रश्न उठेको थियो । तर भण्डारीले नाम चलेका ठूला पत्रिका र अनलाइनहरुलाई कुस्त ‘ब्यापार’ दिएर मुख बुझो लगाइदिए ।

भण्डारी सिजन अनुसारको व्यवसायमा सेटिङ मिलाउन यसबीचमा सफल भइसकेका थिए । बिध ल्याबले जुन बेला कमाउनुपर्ने हो त्यो बेला कमायो । त्यसपछि उनी अन्य व्यवसायमा लागे र अदृष्य लगानी पनि उनीसँगै लगे ।

पछिल्लो समय आइटी व्यवसायमा लगानी थालेका भनेका भण्डारीले हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गर्ने भनेर सेटिङ मिलाएका थिए । निर्वाचन आयोगका कर्मचारीकाे मिलेमतोमा बिना टेण्डर करोडौंको ठेक्का पारेको आरोप छ ।

आयोगले भण्डारीकाे बिध म्यानेजमेन्टसँगको मिलेमतोमा उनको कम्पनीको सामग्रीसँगमात्र मेल खानेगरी ३८ करोड रुपैयाको ठेक्का निकालेको थियो । साना साना प्याकेज बनाएर दहुवा टेक्नोलोजीको वितरकको रुपमा रहेको बिध म्यानेजमेन्टले मगणनास्थलमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको थियो । जसमा एउटा स्थलको लागि ५ लाख रुपैयाको प्याकेज बनाइएको थियो ।

 


प्रतिक्रिया

2 thoughts on “चार मन्त्रीको पीए बनेका भिमकान्त, सांसद बन्ने सपना अकुत सम्पत्तिले उडायो

  1. तातो न छाराे निजामति तर्फका सुब्बाहरूको वेइजत हुने गरी यस भन्दा अगाडिका मेडियाहरूले समाचार लेखेछन । कमाएकाे त माओवादी मन्त्रीका पिएले रहेछ लेखेछन सुब्बा । के को सुब्बा हुनु ३५ कराेडको ठेक्का सुब्बाले हाल्न पाउछ ? सामान्य पढन पढाउन त विदा मिल्दैन सुब्बाहरूलाइ । सारासुब्बाहरुको बद्नाम मात्र भयाे र केही वदमासलाइ प्रेरणा पनि मिल्यो होला तर यस्ता कपुतहरू एक दुइ प्रतिशत होलान सरकारी सेवामा ।अव निस्पक्ष छानविन गरी कसको सम्पत्ती हो मुख खोलाउनु पर्छ ।

    1. Hahaha.
      Nispachhe chan-bin gari…hahaha
      Neta ko kura pahila chhanbin nai hundaina, police uskai sala ho ani tesmathi ‘nispachhya?’..purba nyayadhis dekhi madhya ra uttar nyayadhis haru ra wokil haru uniharu lai jogauna lai nai kalokot ra daura suruwal lagauchhan..baru euta kura huna sakchha kunai nirdosh sadharan bekti/janata ko taukoma yeko aparadh milaube ani jail pathaune.
      Euta khunkhar kangresi purba pradhan nyayedhis le pani thuprai mawobadi ra kangresi neta ko paisa jagga aafule heridiyeka chhan. Sabailai tha ha chha, tara kosailai thaha chhaina….hahaha nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर