प्रदेश १ को नाम किरात प्रदेश राख्न पहिचानवादीबीच नै मतभेद छ: उपेन्द्र सुब्बा – Nepal Press

प्रदेश १ को नाम किरात प्रदेश राख्न पहिचानवादीबीच नै मतभेद छ: उपेन्द्र सुब्बा

कवि, लेखक तथा फिल्म मेकर उपेन्द्र सुब्बा सृजनशील अराजकता साहित्यिक आन्दोलनका अभियान्ता हुन् । लिम्बु समुदायको संस्कृति, जीवनशैलीलाई आफ्नो लेखनी मार्फत् मिहीन ढंगले शब्दहरुमा कुँद्ने सुब्बाका ‘खोलाको गीत’कविता संग्रह, ‘लाटो पहाड’ कथा संग्रह प्रकाशित छन् । साथै सुब्बाले पटकथा तयार पारेको चलचित्र ‘कबड्डी’ श्रंखला नेपाली चलचित्रको इतिहासमा सर्वाधिक सफल चलचित्र पनि हो । उनकै निर्देशन रहेको चलचित्र ’जारी’ प्रदर्शनको तयारीमा छ ।

‘कबड्डी’ चलचित्रकै प्रदर्शनको क्रममा नायिका मिरुना मगर र एक भिक्षुबीचको प्रकरणले सामाजिक संजाल तातियो । पक्ष–विपक्षमा तर्क–वितर्क भए । यही बीचमा सुब्बाको पनि एक अनलाइनमा ‘पहिचानको आन्दोलन नै गलत रहेछ’ आशयको वार्ता प्रकाशित भयो । यसपछि प्रश्नहरु सुब्बातिर पनि सोझिन थाले ।

सृजनशील अराजकता साहित्यिक आन्दोलन मार्फत् पहिचानको वकालत गरिरहेका एक लेखकबाट यस्तो प्रतिक्रिया आएपछि सुब्बामाथि प्रश्नहरु तेर्सिनु स्वभाविक नै थियो । के पहिचानको आन्दोलन वर्तमान समयमा आइपुग्दा गलत गोरेटोमा हिँडेकै हो त ? अथवा सुब्बाको आशय पहिचानको आन्दोलन गलत नै थियो भन्ने हो त ?वा यति चाँडो यस्तो संश्लेषणमा पुगिहाल्नुपर्ने घटना थियो त मिरुना–भिक्षु प्रकरण ? यसै विषय उपर रहेर नेपाल प्रेसकर्मी नवीनकाजी राईले लेखक सुब्बासँग गरेको वार्ताको सम्पादित अंश :

तपाईंको वार्ता प्रकाशित भएपछि जनजाति समुदायका मान्छेहरु नै उग्र भएर तपाईंतिर खनिन थाले । तपाईंमाथि प्रश्न तेर्साउने जमात एकातिर थियो भने अर्कातिर तपाईंसित गुनासो गर्नेहरुको जमात पनि थियो । उनीहरुको आशय थियो कि उपेन्द्र सुब्बा यति चाँडो ‘पहिचानको आन्दोलन गलत रहेछ’ भन्ने निष्कर्षमा पुग्नु हुँदैन थियो । पहिचानको आन्दोलन गलत भन्ने तपाईंको निष्कर्ष नै हो र ?

राज्यद्वारा किनारामा पारिएका, उत्पिडनमा पारिएका, आफनो पहिचान गुमाउन बाध्य पारिएकाहरुको हकमा जो पहिचानको आइडिया छ त्यो गलत हो भन्ने म न त्यो मुर्ख नै हुँ,न त म त्यस्तो विद्वता राख्छु । मैले भन्न खोजेको के मात्र हो भने हामीले पहिचानको सवालमा जे जति कोशिस गर्यौ, जस्तो किसिमले अभ्यास गर्यौ त्यो गलत छ भनेको हुँ । पहिचानको आन्दोलनलाई समानता, सहअस्तित्व र आत्म गौरवको लडाइ हो भन्दै गर्दा व्यवहारत हामी संकिर्ण र विश्रृङखलित हुँदै जाँदैछौं । हिजो हाम्रो गौरवका कुरा गर्ने हामीहरु मेरो मात्र भन्ने/सोच्ने भएका छौं । हिजो मिलेर टुँडिखेलमा उधौली उभौली मान्न किरातीहरु आज प्रदेश नं १ को नाम किरात प्रदेश राख्न पनि असहमत छौं । ०५९ सालतिर एउटा तामाङलाई गोरु मारेको अभियोगमा जेल पर्दा त्यस विरुद्ध सारा आदिवासी जनजातिहरु एकजुट भएर उभियौं । आन्दोलन गयौंं । अहिले त महिनामा दुईचार जना गोरु काटेको अभियोगमा पक्राउ पर्छन् । तर, हिजो जसरी आदिवासीहरु एक स्वरमा बोल्थे, आज त्यसरी बोलेको कोही पनि सुनिँदैन ।

राष्ट्रिय निकुन्जको सेनाले एउटा चेपाङलाई निगुरो टिप्न जाँदा गोली हानेर मार्छ । तर हामी आदिवासी हामी पहिचानवादीलाई अचेल दुख्दैन । मेरो प्रश्न यहीँनेर हो, हाम्रो पहिचानको आन्दोलन विकेन्द्रित हुँदै गयो । हामीले हाम्रो आन्दोलनलाई आफ्नो जाति र समुदायमा मात्र निहीत गर्‍यौं । यहाँ हामी सम्प्रादायिक हुँदै गयौं ।

तर, आदिवासी समुदायकै मान्छेहरुले उपेन्द्र सुब्बा त्यति चाँडै यस्तो निष्कर्षमा पुग्नुहुँदैन थियो । फिल्मको व्यवसायिकतामा असर पर्ने भयले मात्रै त्यस्तो निष्कर्षमा पुगिहाल्नु गलत हो भन्ने कुराहरु आइरहेका छन् ।

जुन अवस्थामा म बोलेँ, त्यहाँ उभिएर मैले गलत बोलेँ लाग्दैन । धेरै कविहरुले फिल्म र पहिचानको कुरा छुट्टै हो भनेर उडाए । कविहरुलाई कविता मात्र खास लाग्छ । म पनि कविता लेखेर आएको हो । तर, सिनेमा पनि त्यति तुच्छ भने होइन है !

एउटा कविले कविता जल्यो भने के प्रतिक्रिया जनाउँछ ? हाम्रो फिल्मको पोस्टर च्यातेर सडकमा आगो लगाइयो । फिल्म चलाउन दिइएन । होला, हामीले गतिलो फिल्म बनाएनौं । तर, एउटा कविलाई गतिलो कविता लेखेनौं भनेर सृजना नै च्यातिदिँदा कस्तो लाग्छ ?

मैले त्यसरी बोल्नुमा मेरो आवेग होला, आवेश होला । भाषा र शब्दमा राम्रो पकड नहुँदा भन्न खोजेको कुरा रामरी भन्न सकिन होला । तर, फेरि पनि भन्छु,पहिचानको आन्दोलनको डार्क साइट यही हो, यस्तै छ ।

तपाईंले पहिचानको आन्दोलनको कमजोरी औंल्याउँदै गर्दा तपाईंबाट आएको अभिव्यक्ति चाहिँ तपाईंको निष्कर्ष हो अथवा संश्लेषण हो भनेर मान्छेले बुझिदिए । तर, त्यस्तो त पक्कै थिएनहोला है ?

लाग्छ, मान्छेले समाचारको हेडलाइन मात्रै पढे । अनि बेस्मारी गाली गरे ।यहाँ मैले मेरो भनाइलाई सच्याउन चाहेको होइन है । नाथे उपेन्द्र सुब्बालाई जल्ले जे जसरी बुझे पनि हुन्छ । मन लागि गाली गरे हुन्छ । हुलमुलको गाली ताली सबै स्वीकार छ । र यति धेरै पनि म भ्रममा बाँचेको छैन, पहिचानको आइडियालाई नै खराब भन्ने हैसियतको मान्छे हुँम ।

मान्छेले त के सम्म भनिदिए भने यो समयमा आएर आन्दोलनलाई गलत देख्ने सुब्बाले बीसौं वर्षदेखि त्यही पहिचानमाथि लेखेर आएको किताब अबजलाई दिने हो त ?

(हहह..)जलाए हुन्छ । किताबको सवालमा भने समाजको लागि अनुपयोगी छ भन्ने लाग्छ जलाए हुन्छ । मलाई लाग्दैन पनि मैले गतिलो कुनै किताब लेखेको छु । खास लाग्ने कृति बनाएको छु । बेर छैन म नै कुनदिन मेरा सब कृति जलाएर एउटा कुना गएर बस्दिन्छु । जलाए हुन्छ ।

राज्यद्धारा विभेदमा पारिएका, दमन गरिएका, भाषागत, सांस्कृतिक रुपमा किनारामा पारिएका मान्छेहरुले राज्यलाई प्रश्न गर्दै आएको यो आन्दोलन टुटफुट चाहिँ कहाँ भयो ? कसरी यस्तो उग्रता र अतिवाद हावी भयो ? कसरी भ्रष्टिकरण भयो ? पहिचानको आन्दोलनले खासमा प्रश्न चाहिँ कसरी गर्नुपथ्र्यो ?

प्रश्न कहाँ कसरी गर्ने भन्ने बारे मलाई आइडिया भएन । राजनीति र विचार निर्माणमा म उति रुचि राख्दिनँ । आन्दोलन विरुप हुनुमा मैले देखेको त आन्दोलनका अगुवाहरु नै असहिष्णु, संकिर्ण र धेर जातिवादी भए भन्ने नै लाग्छ ।

अहिले पहिचानको आन्दोलनको समीक्षा गर्दै गर्दा यसले स्थापित गरेका समावेशिताका कुरा, आरक्षणका कुरा, मातृभाषालाई पाठ्यक्रममा समावेश लगायतका उपलब्धि पनि होलान् नि?

निश्चय पनि छ ।उपलब्धि नै केही गरेन भन्या छैन । गर्न सक्ने उपलब्धिहरु पनि छन् । थिए पनि । जो हामी बीचको अविश्वासले कति जातीय अहंमताले वा संकिर्णताले गुमेको पनि छ । लिम्बुवानकै कुरा गरौं, लिम्बुवान एउटा ऐतिहासिक गौरवशाली पहिचानको आन्दोलन हो । गोरखा राज्य बिस्तारसँगै उठेको निरन्तरको त्यो आन्दोलन अन्तत अन्य पहिचान चाहने समुह र दलहरुबाटै तहसनहस पारियो । कमजोर बनाइयो । अघि नै पनि भने १ नंम्वर प्रदेशको नाम किरात प्रदेश राख्नलाई पहिचान चाहने समुहबीच नै मतभेद छ । विरोध छ ।

यसरी पहिचानको आन्दोलन गलत हुँदै गर्दा स्रष्टाको हिसाबले करेक्सन गर्ने भूमिका त तपाईंको पनि होला नि?

जरुर हुन्छ । कुनै न कुनै रुपमा हुनेछ । रिसले, घृणाले पनि मान्छेहरुलाई संगठित बनाउँदो रहेछ । पहिचानको बारे म बोल्दा राप्रपाका कार्यकतासम्मले गाली गरे । पहिचानवादी एक भएको देखें । त्यो राम्रो लाग्यो । यो पनि योगदान नै हो ।

अन्त्यमा, आफनाे सृजनाको पोस्टर जलाइँदै गर्दा एउटा सर्जकले त्यस्तो विदारक दृश्यलाई कसरी हेरिरहन सक्दोरहेछ ?
पोस्टर च्यातिन्दा आगो बल्दा आफनै साथीभाइ खुशी भएको देखेर म पनि उति दुःखी भइनँ । जतिहुन सक्थेँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर