‘ताल्चा’ भित्र दोस्रो विश्वयुद्धदेखि माओवादी युद्धसम्मका मौलिक कथा – Nepal Press
पुस्तक समीक्षा

‘ताल्चा’ भित्र दोस्रो विश्वयुद्धदेखि माओवादी युद्धसम्मका मौलिक कथा

सुनसरीको चतरामा जेटबोट चलेदेखि मैले दक्षिणी भोजपुरको हतुवागढीको बारेमा जान्ने मौका पाएँ किनभने जेटबोट चतरादेखि हतुवागढीको सिम्लेसम्म चल्छ । र, मैले त्यो जलयात्रा रुटमा प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईको टिमसँगै यात्रा गरेको छु । हतुवागढी जाने बराह क्षेत्रको अक्कले भीरको बाटो साथीहरुसँग बराह क्षेत्र जाँदा टेकेको छु । हतुवागढीको मुकाम घोडेटार पुगेर बास बसेको छु । हतुवागढीमै पुगेर साहित्यकार श्रवण मुकारुङलगायतसँग सेल्फी खिच्ने मौका पाएको छु ।

त्यहाँको सैन्य ब्यारेक भएको हतुवागढी क्षेत्रदेखि त्यहाँको नामी सगरमाथा विद्यालय हेरेको छु । त्यहाँको पोखरी पुगेको छु । हतुवागढीको हाट भर्न पनि पाएको छु । यो अर्थमा मूलतः हतुवागढी नै इपिसेन्टर भएको ११ कथाको संगालो ‘ताल्चा’ पढिसक्दा मलाई आफूले जाने बुझेकै ठाउँको कथा पढेको महसुस भयो ।

११ कथामा ११ खालकै कथा छन् । जस्तै पहिलो कथा ‘सातौँ इमोजी’मा माओवादी लडाकु पार्टी र परिवारबाट विरत्तिएर दुबई गएको कथा हो । दोस्रो कथा ‘कैदी नम्बर ३५४’ भोजपुरको महिला जेलको कथा हो । जहाँ नमारेको बच्चा मारेको अभियोगमा जेल पर्ने पात्रको कथा छ । तेस्रो कथा ‘हल्लावा’ गाउँका जिम्मावालको छोराको बहुविवाहदेखि लाहुरको जापान–बेलायत युद्ध र त्यहाँ बेलायती पक्षबाट जोडिएको गोर्खा सिपाहीको कथा हो । चौंथो ‘नागरिक’ नामक कथा चैं तीन पुस्ते एकल आमाको कथा हो । जहाँ नातिनीले नागरिकता लिन गार्‍हो भएको कथा छ । बाहुन कर्मचारीले असहयोग तर विश्वकर्मा गाविस सचिव र राई सीडीओले चै सहयोग गरेको भन्ने कथा हो ।

‘श्रद्धा’ पाँचौं कथा हो । त्यो कथा त्रिवि कीर्तिपुर पढ्दाको प्रेम कहानी हो । प्रेमिकाको भूकम्पमा परेर मृत्यु हुन्छ । छैटौं कथा ‘रामप्रसाद’ गाउँको मुखिया र काजीको मिटर ब्याज आतंक र घरबारी लिलामीको पञ्चायती कथा हो । सातौं कथा ‘आमूल’ प्रधानपञ्चको हैरानीदेखि माओवादी युद्धसम्म जोडिएको कथा हो । आठौं कथा ‘चिनो’ दलितसँग जोडिएकाले जात काडेको कथा हो । नवौं कथा ‘स्कुल’ राई भाषी विद्यार्थीलाई खस नेपाली भाषी शिक्षकको पेलपालको कथा हो ।

शीर्षक कथा अर्थात् दशौं कथा ‘ताल्चा’ एक स्वार्थी प्रेमीको प्रेमिकालाई धोका पछि आत्महत्या गरेको कथा हो । यो कथा काठमाडौंदेखि उर्लाबारी, दमक हुँदै कोरियासँग पुग्छ । प्रेमको बाँध्ने चाबीको लकको दक्षिण कोरियाली सउल टावरको प्रसंग छ । एघारौं कथा ‘खास कथा’ लेखकको आफ्नै कथा हो । हतुवागढीमा गोरखाली फौजले सत्ता लिएपछिको ढिलो विकास, ढिलो स्कुल आगमन र त्यसको प्रभावको कथा छ । कथाको सार भन्दा महत्वपूर्ण कथाको प्रस्तुति हो । कथाका मुख्य पात्रभन्दा महत्वपूर्ण उनीहरुको बोली र विचार हो । त्यो कोणमा लेखक सफल छन् । उनले पात्रहरुलाई राम्रोसँग स्थापित गर्न सफल भएका छन् ।

सबैभन्दा रोचक कुरा चैं कथामा लेखकले विदेशलाई धेरै जोडेका छन् । पहिलो कथा ‘सातौं इमोजी’कि पात्र रमिला दुबई छिन् । तेस्रो कथा ‘हल्लावा’ गोरखा भर्ती जान्छन् । आठौं कथा ‘चबुङ’ आसाम जान्छन् । नवौं कथा ‘स्कुल’को पात्र तीर्थलाल विश्वकर्मा पनि विदेश जान्छ । दशौं कथा ‘ताल्चा’की पात्र रीमा पनि विदेश जान्छिन् ।

एघारौं कथा ‘खास कथा’ त विदेशमै भएका लेखकको कथा भैहाल्यो । कथाको प्रस्तुतिले पनि कथा विदेशबाटै लेखिएको भन्ने देखाउँछ । जस्तै ‘ताल्चा’ कथाको पृष्ठ १९६ मा लेखक लेख्छन्, ‘रीमा चार वर्ष दश महिनापछि नेपाल पुगिन्…. चार महिनापछि कोरिया फर्किइन् ।’
यसरी ‘नेपाल पुगिन’ र ‘कोरिया फर्किइन्’ भन्नाले कथा नेपाल हैन कोरियाबाटै भनिएको देखिन्छ ।

पुस्तकको अर्को रोचक पक्ष पनि छ । त्यो हो प्रायः लेखकले पात्रको मृत्यु भीरबाट खसालेर गराएका छन् । जस्तै ‘स्कुल’ कथाको पात्र मोटे अर्थात् खिमहाङ राईको बाउ आसामको जंगलमा रुख काट्दा भीरबाट खसेर मर्छ । ‘नागरिक’ कथाको पात्र ताप्लेजुङको बलिहाङ सुब्बा पनि भीरबाटै लडेर मर्छ । हतुवागढीको भीरमा हिँडेको अनुभवी र विदेशमा लामो समय बसेकाले लेखकमा भीर र मृत्यु अनि रोजगार र विदेश अवधारणा बनेको हुनसक्छ । उसो त हाम्रो देशको अधिकांश भूगोल भीर, पाखा, पहाडकै छ । त्यसको रिफ्लेक्सन पनि हुनसक्छ । हाम्रो देशका ५० लाख प्लस नागरिक विदेशमा छन् । त्यसको रिफ्लेक्सन पनि हुन सक्छ ।

समग्रमा कथासंग्रहका कथाहरु धेरै सुन्दर छन् । हतुवागढी गाउँपालिकाबाट भोजपुरले राष्ट्रिय प्रकाशनबाट छापिने कथाकार पहिलोपटक दिलीप बान्तवालाई पाएको छ । त्यो पाउने सामथ्र्य दिलीपका कथामा देखिन्छ । भव्य बधाई । २०२ पृष्ठमा फिँजिएका ११ कथाको पुस्तक रु ३५० मा किन्नेलाई कुनै पछुतो हुने छैन ।

कथाले दोस्रो विश्व युद्धदेखि माओवादी युद्धसम्म, पञ्चायतदेखि गणतन्त्रसम्मको कथा भनेको छ । कथाको मेरुदण्ड चै हतुवाली भूगोल र किराँती सांस्कृतिक धरालत हो । यसले कथालाई बलियो बनाएको छ । आफ्नो इलम गर्न कोरिया पुगेर पनि त्यही समयमा यता नेपालमा राम्रो कथा संग्रह छपाएर पाठकको कोठा–कोठा र मन–मनमा पुग्न सफल भएकोमा दिलीप बान्तवालाई बधाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.