रोएर फिल्म चलाएको आरोपपछि पूजा शर्मा झण्डै रोइन् ! – Nepal Press

रोएर फिल्म चलाएको आरोपपछि पूजा शर्मा झण्डै रोइन् !

काठमाडौं । पूजा शर्मा नेपाली चलचित्र क्षेत्रमा जति सफल छिन् त्यति नै विवादित पनि । उनलाई सामान्य ज्ञान नभएकोदेखि हलमा रोएर फिल्म हिट बनाएकोसम्म आरोप लागेका छन् ।

उनै पूजा अभिनीत पछिल्लो चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को गीत सार्वजनिक गर्ने कार्यक्रम थियो आज । कार्यक्रममा हरियो ड्रेसमा चन्द्रमाझैँ धपक्कै बलेर आइपुगेकी थिइन् पूजा ।

गाडीबाट झरेदेखि नै उनलाई पत्रकारहरूले घेरिहाले । रिलिज हुन तयार भए पनि कहिलेदेखि हलमा लगाउने भन्ने कुरामा अलमलमा परेको यो टिमले अन्ततः भदौ १७ गतेदेखि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ देशभर लाग्ने सूचना पनि यसै कार्यक्रममार्फत दिए ।

यस चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम टोपडेनको मुख्य भूमिका रहेको छ । तर, आकाश भने कार्यक्रममा आएनन् । पछिल्लो समय आकाश र पूजाको चिसो सम्बन्धका कारण उनी नआउनु अपेक्षित नै थियो ।

अब लागौँ आजको मुख्य सन्दर्भमा। पूजाको गीत हेरिसकेपछि सबैले उनको अभिनयको तारिफ गरिदिए । तारिफ सुन्दा पूजाको अनुहार झनै उज्यालियो । तर, उज्यालो अनुहारमा ग्रहण त्यतिखेर लाग्यो जब उनकै निकटका पत्रकारले नै पूजालाई ‘रुन्चे हिरोइन’ र ‘कन्ट्रोभर्सी क्विन’को ट्याग दिए ।

पत्रकारको प्रश्न सुनेपछि पूजाको अनुहारमा एक्कासि कालो बादल छायो । अर्की पत्रकारले आकाशसँग जोडेर प्रश्न सोधेपछि त उनी झन् निःशब्द नै भइन् । आकाशको प्रश्नमा पूजाले मुखसम्म खोलिनन्।

पूजा र पत्रकार बिचको सवाल जवाफ–

पत्रकार– तपाई फिल्मलाई चर्चामा र हाइपमा ल्याउन रोनाधोना र कन्ट्रोभर्सी गर्नुहुन्छ । ‘सम्हालिन्छ कहिले मन’ को लागि चाहिँ के छ योजना ?

पूजा शर्मा– ‘कन्ट्रोभर्सीले फिल्म चल्ने भए यत्रो मेकिङ किन गर्नु ? यत्रो दुःख किन गर्नु ? जहाँ सुटिङ गरे पनि हुन्छ, जस्तो झुर गीत बनाए पनि हुन्छ, म कन्ट्रोभर्सी गरिहाल्छु र पत्रकारहरूले विवाद बनाइदिइहाल्नुहुन्छ भने भइहाल्यो नि । मेहनत गर्नुपर्छ र मेहनत सँगसँगै त्यसलाई कसरी मार्केटमा लाने भन्ने हो । कन्ट्रोभर्सी त तपाईँहरूले बनाइदिने हो । म पूजा शर्मा हो । पूजा शर्मा अरू पूजा शर्मा हुँदैन । मेरो बोली मलाई ठिक लाग्छ भने अरूलाई नलाग्न सक्छ । त्यहीँ भएर म केही कुरालाई कन्ट्रोभर्सीको हिसाबले हेर्दिनँ । म आफूमा सच्चा छु र मलाई यो चिज मन पर्छ भने म गर्छु ।

पूजाको उत्तर सकिन नपाउँदै सोही चलचित्रका निर्देशक सुदर्शन थापाले उनको बचाऊ गर्दै आफ्नो तर्क राखे ।

सुदर्शन थापा– ‘कन्ट्रोभर्सी र रोएर चलाउने भनेर ‘म यस्तो गीत गाउँछु २’ को कुरा गर्नुभएको होला । त्यस्तो कति पत्रकार साथीलाई लाग्यो होला, कलाकारहरूलाई लाग्यो होला, नायिकाहरूलाई पनि लाग्यो होला । तर त्यतिखेरको माहोल नै अर्कै थियो । त्यति बेला हामीबाहेक अरू कलाकारहरू र पत्रकार साथीहरूको आँखामा पनि आँसु थियो । पूजा त्यतिकै रोएको थिएनन् होला । साँच्चीकै फिलिङ्सबाट रोएको थियो होला । रोएरै फिल्म चल्छ भने त एक–दुई वटा फिल्म अरूले पनि रोएर चलाएर हेरे हुन्छ ।’

रिसले चुर पूजाले त्यसैमा थपिन्, ‘आजैदेखि सुरु गरे हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर