आफ्नो सरुवालाई लिएर थोकरले प्रहरीदेखि महान्यायाधिवक्ता कार्यालयमाथि लगाएका यी ५ आरोप – Nepal Press

आफ्नो सरुवालाई लिएर थोकरले प्रहरीदेखि महान्यायाधिवक्ता कार्यालयमाथि लगाएका यी ५ आरोप

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले ललितपुर जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता सङ्गीता थोकरलाई बिहीबार सरुवाको पत्र थमाएको छ।

ललितपुर जिल्ला अदालतमा विचाराधीन बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता कार्यालयले दबाब दिएको समाचार आइरहेका बेला सोही मुद्दाको अभियोजन गरिरहेकी थोकरको सरुवा भएको हो।

थोकरले महान्यायाधिवक्ता कार्यालयको आग्रह नमानेको कारण आफ्नो सरुवा भएको आरोप लगाइरहेकी छिन्।

१३ वर्षीय किशोरीले विगत तीन वर्षदेखि बलात्कार गरिरहेको आरोप लगाएपछि पक्राउ परेका सुशील चटौतको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले अनुसन्धानदेखि अभियोजनसम्म दबाब दिएको दाबी गरिएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै थोकरले पहिलो, चटौतको मुद्दा अभियोजन गर्न जिल्ला सरकारी वकिल कार्यालयका अन्य सरकारी वकिलहरू पन्छिएको बताइन्।

‘सुरुमा जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सुशीला ज्ञवालीले यो मुद्दा हेरिरहनु भएको थियो । उहाँले एक्कासि छाडेर यो मुद्दा युरेन लामालाई हेर्न भन्नु भयो । त्यति बेला लामा दुई दिनदेखि विदामा हुनुहुन्थ्यो । ज्ञवाली बाहिर गएपछि निमित्त पाउनु भएकी ललिता श्रेष्ठले यो मुद्दा हेर्न सक्नु हुन्थ्यो तर मुद्दा अलपत्र पर्ने अवस्था आयो। अनि मैले यो मुद्दा अभियोजन गर्नुपर्ने अवस्था बन्यो’, सङ्गीताले घटनाक्रम बेलिविस्तार लगाइन् ।

त्यसपछि प्रहरीबाटै मुद्दा कमजोर बनाएर ल्याइएको उनको आरोप छ ।

‘२४ औँ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन ल्यायो । भोलिपल्ट सार्वजनिक बिदा थियो । २६ औँ दिनमा मुद्दा अदालतमा टेकाउनै पर्ने अवस्था थियो। तर अनुसन्धान प्रतिवेदन बलियो थिएन । पीडितसँग कुराकानी गरिएको भिडियोलाई सबुद प्रमाणका रूपमा त्यहाँ राखिएको थिएन। मैले हतार हतार भिडियो मगाएर मिसिलमा समावेश गरेँ। आरोपीबाट प्रभावित भएको अवस्था त्यत्तिमै सीमित थिएन । पीडितको बकपत्रको दिन आरोपीले नै उनलाई अदालत पुर्‍याएका थिए जब की प्रहरीले हामीलाई खबर गरेर पीडितलाई अदालत लैजाने गर्छ न्। बकपत्रकै दिन अदालतबाट मलाई बकपत्रमा सहभागी हुन आउनु भनिएको थियो।’ बकपत्रमा किशोरीले बलात्कार नभएको भन्दै बयान फेरेकी छिन्।

थोकरले चटौतविरुद्धको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता कार्यालयबाटै बारम्बार फोन र दबाब आएको उनको दाबी छ।

भन्छिन्, ‘थुनछेकको आदेशले आरोपी चटौत पुर्पक्ष गए पनि मुद्दा कमजोर बनाउन बारम्बार दबाब आइरहेको थियो । तर यति गम्भीर मुद्दामा कमजोरी गर्नु हुन्न भन्ने मेरो अडान थियो ।’

थोकरले चौथो आरोप अभियुक्तविरुद्धका दशी प्रमाण लुकाउन खोजिएको लगाएकी छिन् । अदालतमा पेस गर्ने तयारी रहेको ७ मिनेटको अडियो त्यहाँसम्म पुग्न नदिन आफूलाई हटाइएको उनको दाबी छ। ‘त्यो अडिओमा पीडित र उनकी आमाबीच कुराकानी भएको सुनिन्छ जसमा उनले चटौतले बलात्कार गरेको बताएकी छिन् ।

‘त्यसलाई मैले फैसलाका बेला पेस गर्ने तयारी गरिरहेको थिएँ’, उनी भन्छन्। यी सबै घटनाक्रम बारेमा सञ्चार माध्यमहरूमा आएकाले महान्यायाधिवक्ता कार्यालयले आफूलाई सरुवा गरेको उनको अर्को आरोप छ ।

‘पछिल्लो समय मुद्दा प्रभावित बनाउन भइरहेको दबाबबारे समाचारहरू आइरहेका थिए। त्यो मैले नै दिएको भनेर शंका गरिएको हुन सक्छ’, थोकर भन्छिन् ।

के थियो घटना ?

चटौत ललितपुरको इमाडोलस्थित ग्रिन हिल अपार्टमेन्टमा परिवारसँग बस्दै आएका थिए। बालबच्चाको हेरचाहसमेत हुन्छ भन्दै अभियुक्तका बुबा तीर्थराज चटौतले बालिकालाई बझाङबाट ल्याएका थिए।

यातायात ढुवानी र हाइड्रोपावरमा लगानी रहेका तीर्थराजको बझाङको बुङ्गल नगरपालिकास्थित अफिसमा पीडित बालिकाका बुबासँग भेट भएको थियो। छोरीको भविष्य राम्रो हुन्छ भनेर उनले तीर्थराजको जिम्मा लगाएर काठमाडौं पठाएका थिए। तीर्थराज प्राय कञ्चनपुरमै बस्छन्।

उनको राजनीतिक पहुँचसमेत माथिल्लो स्तरमा रहेको बताइन्छ। राजनीतिमै सक्रिय रहेका कतिपय उनका व्यावसायिक साझेदार रहेका छन्। ग्रिन हिलमा सामान्य काममा सहयोग गर्ने र पढ्ने भनेर ल्याइएकी बालिकामाथि केही समयमै सुशीलले बलात्कार गर्न सुरु गरेको आरोप लगाइएको छ।

आफ्नी श्रीमती गर्भवती रहेका बेला पहिलो पटक सुशीलले बालिकालाई बलात्कार गरेका थिए। पहिलो पटक आफू बलात्कृत हुँदा सुशीलकी श्रीमती बाहिर गएको पीडित बालिकाको आरोप छ।

त्यसपछि बारम्बार आफूमाथि बलात्कार भएको आरोप लगाएकी बालिका गत माघमा विद्यालयबाट घर फर्कन नमानेपछि घटना बाहिर आएको हो।

त्यसपछि विद्यालयले बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सिविसको जिम्मा लगाएर परामर्श सुरु गरेको थियो। बिस्तारै ती युवतीले घटनाको बेलिबिस्तार लगाएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर