मिरुना प्रकरणको साइडइफेक्ट: बडीगार्डसहित हलमा स्वस्तिमा – Nepal Press

मिरुना प्रकरणको साइडइफेक्ट: बडीगार्डसहित हलमा स्वस्तिमा

काठमाडाैं । केही समय अगाडि ‘कबड्डी ४’ को हल भिजिट हुँदा अभिनेत्री मिरुना मगरमाथि फ्यानबाट भएको दुर्व्यवहारले नेपाली सिने जगतमा एक किसिमको भूइचालो आएको थियो । ‘कबड्डी ४’को विषयमा दर्शकको प्रतिक्रिया बुझ्न सिभिल मलमा पुगेकी नायिका मिरुना मगरले आफूलाई अनुचित तरिकाले ‘ब्याड टच’ गरेकाे भन्दै फुर्वा तामाङलाई सबैको अगाडि थप्पड हानेकी थिइन् ।

मिरुनाको उजुरीपछि प्रहरीले मुगुका फुर्वालाई पक्राउ गरी हिरासतमा समेत लिएको थियो । फुर्वाका समर्थकहरुले उनलाई तत्काल रिहा गर्नुपर्ने, चलचित्रको प्रदर्शन रोक्नुपर्ने, मिरुनाले माफी माग्नुपर्ने माग राख्दै फुर्वा रिहा नभएसम्म र मिरुनाले माफी नमागेसम्म विरोध गर्ने घोषणा गरेका थिए ।

मिरुना र फुर्वा प्रकरणले आजबाट देशभर लागेको चलचित्र ‘चिसो मान्छे’ को टिमलाई सतर्कता अप्नाउन प्रेरित गरेको छ । फिल्मको हल ‘भिजिट’मा वान सिनेमाज् र बिग मुभिजमा बिहानै पुगेकी स्वस्तिमाको दायाँबायाँ दुई बडीगार्ड पनि सँगसँगै देखिएका छन् । मिरुना प्रकरणले झस्क्याएको हो ? भन्ने प्रश्नमा चलचित्रकी निर्माता शर्मिला पाण्डे भन्छिन, ‘हिजो के भयो, त्यो हामीलाई थाहा छैन। कलाकार लिएर हिँडेपछि दर्शकहरुले फोटो खिच्न खोज्नुहुन्छ। त्यसैले तलमाथि केही नहोस् भनेर हो ।’

त्यहीँ प्रश्नमा स्वस्तिमा भन्छिन, ‘अहिले मलाई केही नभएसम्म फिल नहोला । मलाई अहिलेसम्म त्यस्तो केही भएको पनि छैन । तर, भोलि केही नहोला भन्न सकिँदैन । हजार जनाको भीडमा एकजना नराम्रो व्यक्ति निस्किन पनि सक्नुहुन्छ । त्यसैले केही हुनुअघि नै सतर्कता अपनाउनु ठीक हो । जुन सुरक्षाको सुरुवात हाम्रो टिमले गर्नुभएको छ । त्यसको म कदर गर्छु । र, यस्तो व्यवस्था हुनु पनि पर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर