कान्ति बाल र थापाथली अस्पतालमा वागमती प्रदेशका विपन्नलाई निःशुल्क रगत – Nepal Press

कान्ति बाल र थापाथली अस्पतालमा वागमती प्रदेशका विपन्नलाई निःशुल्क रगत

काठमाडौं । काठमाडौंस्थित कान्ति बाल अस्पताल महाराजगञ्ज र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचार गर्ने वागमती प्रदेशका विपन्न बासिन्दाले यही असार १ गतेदेखि निःशुल्क रगत सेवा पाउने भएका छन् ।

यसका लागि केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंबीच सम्झौता भएको छ । सो सम्झौतामा विभागका निर्देशक दिव्यराज पौडेल र कार्यालयका प्रमुख वसन्त अधिकारीले हस्ताक्षर गरे । यसमा लाग्ने खर्च वागमती प्रदेश सरकारले बेहोर्ने जनाइएको छ ।

यसअघि काठमाडौंको वीरअस्पताल र टोखा चन्डेश्वरी अस्पतालमा उपचार गर्ने वागमती प्रदेशका विपन्न बासिन्दाले गत चैतदेखि निःशुल्क रगत सेवा पाउने गरी केन्द्रीय रक्तसञ्चार सेवा विभाग र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंबीच सम्झौता भएको थियो ।

काठमाडौंका अन्य सरकारी अस्पतालमा पनि यो सेवा विस्तार गर्न पहल भइरहेको छ । वागमती प्रदेशको अरू जिल्लामा पनि यस्तै खालको सम्झौता हुन लागेका विभागका निर्देशक पौडेलले जानकारी दिए । यसअघि कीर्तिपुर र टोखा नगरपालिकाका बासिन्दालाई निःशुल्क रक्तसेवा उपलब्ध गराउन पालिका र रेडक्रसबीच सम्झौता भइसकेको उनले बताए ।

गण्डकी प्रदेशमा प्रदेश सरकारको आर्थिक सहयोगमा गत फागुन १ गतेदेखि रेडक्रसका निकायले निःशुल्क रक्तसेवा सुरु गरिसकेका छन् । अन्य प्रदेशमा पनि विभिन्न पालिकाको आर्थिक सहयोगमा ती पालिका क्षेत्रमा निःशुल्क सेवा अभियान बढ्दै छ । यस अभियानलाई अघि बढाउन सहयोग गर्ने सम्पूर्ण महानुभाव, नेतृत्व र निकायमा आभार व्यक्त गर्दै थप सहयोगको अपेक्षा नेपाल रेडक्रसले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर