पत्रकार रिनाले सार्वजनिक गरिन् ६ वर्ष अघि भएको यौन दुव्र्यवहारको वृत्तान्त – Nepal Press

पत्रकार रिनाले सार्वजनिक गरिन् ६ वर्ष अघि भएको यौन दुव्र्यवहारको वृत्तान्त

काठमाडौं । कान्तिपुरकी पत्रकार रिना मोक्तानले आफूमाथि चलचित्र पत्रकार संघका एक पदाधिकारीले गरेको ‘यौन दुव्र्यवहार’ सार्वजनिक गरेकी छिन् । केही दिन अघि उनले यौन दुव्र्यवहार गर्ने व्यक्ति नै जुरीमा रहेको भन्दै आफूलाई संघले दिने भनेको पुरस्कार बहिष्कारको घोषणा गरेकी थिइन् ।

रिनाले कान्तिपुरमा लेख लेख्दै आफूमाथि भएको घटनाको वृतान्त बताएकी हुन् । उनका अनुसार घटना २०७३ साल फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव भएको रातको हो । आफू भर्खरै चलचित्र पत्रकारितामा आएका बेला ‘पिडक’सँग सोही चुनावका क्रममा नजिकिएको उनले बताएकी छन् । ‘पिडक’ उक्त चुनावबाट संघको सचिवमा निर्विरोध निर्वाचित भएको खुलासासमेत उनले गरेकी छन् ।

राति मतगणनाका क्रममा अबेला भएपछि आफूले विश्वास गरेको दाईसँग घर जाने भनेर हिँडेको तर उनले होटलमा लगेर दुव्र्यवहार गरेको रिनाको आरोप छ ।

उनले लेखेको घटना विवरण यस्तो छः
२०७३, फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव थियो । भर्खरै रेडियोबाट युट्युबतिर लागेको थिएँ म । फिल्म क्षेत्रको रिपोर्टिङमा एकदमै नयाँस त्यसमाथि चुनाव पनि नयाँ । चुनावी माहोलमा घुलमिल हुन त्यतिबेला साथी आशीष ओली र एक जना पत्रकार दाइ (पीडक)ले गाइड गरिरहेका थिए । हामीले समर्थन गरेका व्यक्ति एकै थिए, त्यसैले पनि ती दाइ हामीसँग चुनावको समयदेखि नजिकिएका थिए । त्यस दिन उनी पनि सचिवमा निर्विरोध चुनिए ।

‘चुनावको नतिजा सुनेरै घर फर्कनू । बरु ढिला भए घर पुर्‍याइदिऊँला‚’ उनले यति भनेपछि, म मतपरिणाम कुरेर बसें । चुनाव सकिँदा रातको साढे ९ बजिसकेको थियो । उनले घर पुर्‍याइदिन्छु भन्दै स्कुटर निकाले । सँगैका आशिषले ढुक्कले मलाई बिदाइ गरे । स्कुटर बानेश्वरको अर्याल होटलबाट भक्तपुरतर्फ गुड्यो ।
कोटेश्वरमा पुगेपछि, उनले‚ ‘तिम्रो घर त टाढा रहेछ । स्कुटरको पेट्रोल सकिन लाग्यो । तिमी मेरो घरमा बस्नू, भाउजू सँगै भइहाल्नुहुन्छ‚’ भने ।

उनको गर्लफ्रेन्डलाई हामी त्यतिबेला भाउजु भन्थ्यौं । निकै राति भइसकेको थियो । मैले पनि भाउजूुसँग बस्नु ठीक ठानें । ट्याक्सी चढेर घर जान्छु भनेको थिएँ तर उनले मलाई बारम्बार भाउजुको नाम लिएर कन्भिन्स गर्न खोजे, अरु विकल्प पनि थिएन । स्कुटर फर्काएर बानेश्वर हुँदै अनामनगरतर्फ मोडियो । अनामनगर पुग्दै गर्दा उनले मलाई ‘अबेर भइसकेकाले परिवार सबै सुतिसकेको हुन सक्ने र ढोका बन्द हुने बताउँदै हनुमानस्थान नजिकैको एउटा होटलमा पुर्‍याइदिएर आफू घर फर्किने बताए । अर्काको घर गइरहनुभन्दा होटलमै बस्नु सजिलो लाग्योस मैले ‘हस्’ भने । हनुमानस्थानको होटलमा कोठा नपाएपछि उनले मलाई पुतलीसडकको एउटा होटलमा लगे ।

उनले चोकैपिच्छे कुरा बनाउँदै हिँडेकाले मनमा शंका नउब्जिएको पनि होइन तर, दाइ ठानेकाले पनि सुरक्षित ठाउँमै छाडिदेलान् भन्ने विश्वास भने थियो । उनले मलाई ‘रत्नराज्यलक्ष्मी क्याम्पस’ को पछाडिपट्टिको ‘कान्तिपुर होटल’ लगे । त्यसपछि उनले रिसेप्सनमा गएर दुईवटा चाउचाउ र पानी किनिदिए । रजिस्ट्रेसनमा आफ्नो नाम पनि टिपाएजस्तो लाग्छ । त्यसपछि म ढुक्क भएँ सुरक्षित महसुस गरें । तर‚ त्यसपछि होटल सञ्चालकसँग चाबी मागेर उनी सरासर ‘बहिनीको रुम कस्तो छ म हेरेर जान्छु’ भनेर उक्लन थाले । अनि मन चिसो भयो ।

एकछिन अघिको सुरक्षाभाव क्षणभरमै अत्यासमा बदलियो । कोठामा प्रवेश गरेपछि एकछिन आराम गरेर ‘फर्कन्छु’ भन्दै उनी पलङमा पल्टिएपछि मन आत्तिन थाल्यो । मैले अवस्थालाई सामान्य बनाउन अनुहारमा डर झल्कन दिइनँ । अर्को पलङमा बसेर चाउचाउ खाने कोसिस गरें तर, घाँटी अड्किरहेको थियो । उनी पलङको भित्तामा अडेस लागेर ढल्किए । दिमागमा अनेकथरि कुरा खेल्न थाल्यो म एकोहोरिएछु ।

‘बहिनी मेरो छेउमा बसेर चाउचाउ खाऊ’ भन्दा पो झल्याँस्स भएँ । दिमागले केही सोच्नै सकिरहेको थिएन । ‘दाइसँग डराको ?’ भन्न थालेपछि म छेउमा गएर चाउचाउ खान थालें । म निकै आँत्तिएकी थिएँ । त्यतिकैमा उनले मेरो कम्मर समाए । ‘दाइ मलाई यस्तो मन पर्दैन,’ डरले काँप्दै भनेँ ।
‘केही गर्दिनँ’ भन्दै फेरि कम्मरमा हात लगे मैले हात झट्कारिदिएँ । रुन थालें त्यसपछि उनी अलिकति डराए । म जोडले रुन खोज्थें तर आवाज भित्रै दबिन्थ्यो ।

त्यसपछि म अर्को पलङमा बसेर रुन थालें शरीर लगलग काँपिरह्यो । आफूले दाइ मानेको व्यक्तिले यस्तो गर्लान् भनेर एक प्रतिशत पनि लागेको थिएन । उनलाई विश्वास गरेर होटलसम्म पुगेकोमा आफैंलाई दोषी ठानिरहेँ पछुताइरहें रोइरहें । आमाको याद आयो, साथी आशिषलाई सम्झें । फोन गरुँ फोनमा चार्ज थिएन । रुनबाहेक गर्न केही सकिनँ । त्यतिन्जेलमा उनी निदाए ।

त्यतिबेलै भाग्ने सोचेको पनि हो तर, ढोकाको आवाजले ब्युँझिएर जबरजस्ती नै गर्ने हो कि भन्ने लाग्यो । मलाई कतिखेर उज्यालो होला भन्ने भइरह्यो । त्यतिबेला १२ देखि १ बजेको हुँदो हो । मध्यरातसम्म रोएरै बसें । बिहान ३ देखि ४ बजेपछि मानिसको चहलपल बढेसँगै विक्षिप्त मानसिकतामै घर पुगें । त्यो कहालीलाग्दो क्षण सम्झँदा अहिले पनि मुटु काँप्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर