७ महिला ५१ केजी हेरोइन बोकेर जोहानेसबर्गदेखि काठमाडौंमा, प्रहरीले यसरी गर्‍यो ‘सफल अपरेसन’ – Nepal Press

७ महिला ५१ केजी हेरोइन बोकेर जोहानेसबर्गदेखि काठमाडौंमा, प्रहरीले यसरी गर्‍यो ‘सफल अपरेसन’

काठमाडौं । गत जेठ २६ गते एक महिला दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौंमा उत्रिएको सूचना प्रहरीले पायो । ठमेलस्थित एक होटलमा बसिरहेकी ती महिला थिइन् २९ वर्षीया मालान्को माउरिन माथिबा । उनी बसिरहेको ठाउँबारे पत्ता लगाएपछि प्रहरीले उनीमाथि सूक्ष्म निगरानी बढायो ।

उनले को कोसँग के के कुरा गर्दैछिन् भन्नेमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली जानकार थियो । प्रहरीले यकिन गरिसकेको थियो कि माथिबासँग हेरोइन छ । तर, भारतबाट उक्त सामान लिन आउने व्यक्तिले ढिला गर्दा उनी बेचैन थिइन् । उनले सामान लिने व्यक्ति भेट्न सकिरहेकी थिइनन् । जेठ ३१ गते उनको फर्कने टिकट थियो ।

यत्तिकैमा प्रहरीले अरु महिला पनि जोहानेसबर्गबाट हिरोइन बोकेर आउन लागेको सूचना पायो । फ्लाई दुबईको उडानबाट जेठ २९ गते दुबई हुँदै काठमाडौं उत्रिएका २९ वर्षीया सिब्सी थानडेकिल र ४६ वर्षीया मुरियल क्वेडुकवाजी थेम्बेनी साम्बा पनि सोझै ठमेल हानिएर त्यहाँ रहेको होटलमा बसे ।

तर, प्रहरीले एयरपोर्टबाटै उनीहरुका गतिविधि नजिकबाट नियाल्ने वातावरण बनाइसकेको थियो अर्थात उनीहरु होटलकै कर्मचारी बनेर ती महिलाहरु सँगसँगै थिए । उनीहरुले कुरा गरिरहेका मान्छेहरु खुसी देखिन्थे । एयरपोर्टबाट सजिलै सामान बाहिर निकाल्न सफल भएर होटलमा पुगेकोप्रति ती महिलाहरुले स्याबासी पाइरहेका थिए । जेठ ३० गते उनीहरुलाई प्रहरीले होटलबाटै नियन्त्रणमा लिएर अन्य व्यक्ति र सामान ल्याइरहेका व्यक्तिलाई पक्राउ गर्न थाल्यो ।

उनीहरुले सुटेकेशमा फल्स बटम बनाएर ८/८ केजी सेतो हिरोइन ल्याएका थिए । जेठ ३० गते फ्लाई दुबईका दुईवटा विमानबाट दुई जना महिला फेरि काठमाडौं उत्रिए । उनीहरुको पछि लाग्दै प्रहरीले दुवैलाई सोही दिन साँझ ठमेलका बेग्लाबेग्लै होटलबाट पक्राउ गर्‍यो ।
तीमध्ये ३९ वर्षीया साबालाला खान्यीसिल भ्योन्नीको साथबाट ८ केजी र ३६ वर्षीया रोशिना ननक्वेल जान्तीयको साथबाट ८ केजी सेतो हेरोइन बरामद भएको थियो । त्यस दिन मौरिन, साबालाला र रोसिनाबीच ठमेलमा भेटघाट पनि भएको थियो ।

उनीहरु तीन जनाबीच दक्षिण अफ्रिकामा पनि सामान्य चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जेठ ३१ गते कतार एयरलाइन्सबाट दोहा हुँदै आएकी ३७ वर्षीया मोरोसी सुजन कोफु र फ्लाई दुबईबाट दुबई हुँदै आएकी ३० वर्षीया मार्लिज बाडेनहर्स्ट सोही दिन साँझ ठमेलबाटै पक्राउ परेका थिए । कोफुको साथबाट २ केजी खैराे हेरोइन र ४ केजी सेतो हेरोइन बरामद भएको थियो । यस्तै मार्लिजको साथबाट ६ केजी सेतो हेरोइन बरामद भएको थियो ।

ब्युरोका निमित्त प्रमुख जीवन श्रेष्ठले पक्राउ परेका ७ जनालाई पाँच जना व्यक्तिले दक्षिण अफ्रिकाबाट पठाएको बताए । ‘चिनजान भए पनि हामी नेपाल जाँदै छौँ भन्ने एक अर्कालाई थाहा नभएको देखिन्छ’, एसपी श्रेष्ठ भन्छन् ।

नेपाल आइपुगेका उनीहरुलाई निर्वाध गतिविधि गर्न दिनु र बाहिरबाट सामान पठाउनेले पनि आफ्नो सामान होटलसम्म सुरक्षित पुगेको विश्वास पाएकाले एकैपटक ठूलो मात्रामा हेरोइन नेपाल आइपुगेको एसपी श्रेष्ठ बताउँछन् ।

‘एयरपोर्ट उत्रनेबित्तिकै महिलाहरुले सामान र आफ्नो तस्विर खिचेर पठाएको देखिन्छ । लाइभ लोकेसन पनि उनीहरुले सेयर गरेपछि हेरोइन पठाउने समूह विश्वस्त भएको देखिन्छ । सामान सुरक्षित पुगेको आत्मविश्वासका कारण अरुलाई पनि नेपाल पठाइएको हुन सक्छ’, श्रेष्ठ भन्छन् ।

पक्राउ परेकी ४६ वर्षीया मुरियल पछिल्लो पाँच महिनामा तेस्रोपटक नेपाल आएकी हुन् । उनी गत फेब्रुअरी र मार्चमा पनि नेपाल आएको पाइएको छ । अन्य भने पहिलोपटक नेपाल आएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार सामान लिन भारतबाट आएको समूहले धेरै ठाउँमा सामान दिन बोलाए पनि उनीहरु सम्पर्कमा आएनन् ।

‘गिरोहले पटक-पटक होटल परिवर्तन गर्न लगाए । विभिन्न ठाउँमा सामान लिन आएको छ भनेर त्यहाँ पुग्न भने । तर, सामान लिन आउनेहरु सम्पर्कमा आएनन् । आफूहरु पक्राउ नपरेको अनेक विश्वास दिलाउन खोजे पनि सामान लिन आउनेहरु सम्पर्कमा आएनन्’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

नेपालमा एउटै अप्रेसनमा यति ठूलो मात्रामा हेरोइन यसअघि बरामद भएको थिएन । प्रहरीका अनुसार बरामद भएको हेरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रुपैयाँ छ ।

यसअघि गत बैशाखमा पनि ७ केजी सेतो हेरोइनसहित दुई जना पक्राउ परेका थिए । जुन गिरोहले त्यतिबेला सामान पठाएको थियो । अहिले पनि त्यही समूह संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यतिबेला पनि एक अफ्रिकी महिला पक्राउ परेकी थिइन् ।

‘ठमेलका होटलमा बसेको, सुटकेशमा सामान राखेको तरिका हेर्दा पाँच जनाको गिरोहलाई चलाउने व्यक्ति पनि एउटै जस्तो देखिन्छ’, एसपी श्रेष्ठ भन्छन् । सेतो हेरोइन निकै महँगो हुने भएकाले नेपाललाई ट्रान्जिट बनाई भारततर्फ लैजाने गरिएको ब्युरोका अधिकारीहरु बताउँछन्।

पक्राउ परेका महिलाहरु दक्षिण अफ्रिकामा डेलिभेरी, तरकारी बेच्ने, होटलमा काम गर्नेलगायतमा संलग्न रहेको उनीहरुले प्रहरीसँगको सोधपुछमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *