गैरआवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौं : प्रधानमन्त्री – Nepal Press

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले उठाउँदै आएको नागरिकताको मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघले काठमाडौंमा आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा बोल्दै प्रधानमन्त्री देउवाले सबै पक्षसँग समन्वय गरी नागरिकताको विषयमा टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका हुन् ।

‘गैरआवासीय नेपाली संघका जायज मागप्रति सरकार सकरात्मक छ । गैरआवासीय नेपाली नागरिकताको विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशक्य चाडो समाधान गर्ने विश्वास दिलाउन चाहन्छु’, देउवाले भने ।

उनले गैरआवासीय नेपालीहरुलाई विदेशमा आर्जन गरेको पुँजी, ज्ञान र सीपलाई नेपालको हितमा उपयोग गर्न समेत आग्रह गरे ।

‘विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवसायिक ज्ञान र सीपलाई मुलुकको विकासका लागि उपयोग गर्न म सबै गैरआवासी नेपालीलाई आग्रह गर्न चाहन्छु’, प्रधानमन्त्री देउवाले भने ।

नेपालको भाषा, संस्कृति र पर्यटकीय सम्भावनाको विश्वव्यापीकरणमा गैर आवासीय नेपालीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री देउवाले सरकारले बजेटमार्फत गैरआवासीय नेपाली लक्षित विभिन्न योजना ल्याएको बताए ।

‘नेपालको पर्यटन प्रबर्धनमा पनि अगैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण छ । बजेटमा गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रमहरु ल्याएका छौं । त्यसको प्रभावकारी कार्यान्वयनबाट मुलुकको विकासमा सहयोग पुग्नेछ’, देउवाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *