निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत – Nepal Press

निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

निजगढ । मधेसका मुख्यमन्त्री लालबाबु राउतले निजगढको अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् ।

निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँग साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् । उनले मधेस प्रदेशको विकासका लागि अति महत्वपूर्ण निजगढ विमानस्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए ।

मुख्यमन्त्री राउतले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अझै आइनसकेकोले नआत्तिन निजगढबासीलाई आग्रह गरे । उनले पूर्णपाठमा निजगढ विमानस्थलका लागि सकारात्मक सन्देश आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौं । तर, विमानस्थलनको नाउँमा अनावश्यक रुख कटानी गर्न दिँदैनौं । विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन, नेपालका लागि सुहाउँदो विमानस्थल बनाउन प्रदेश सरकार हरसम्भव प्रतिबद्ध छ ।’

विमानस्थलको नाउँमा जंगल नै सिध्याउने चलखेल हुँदै आएको भन्दै मुख्यमन्त्री राउतले निजगढबासीलाई सचेत गराए । उनले निजगढ विमानस्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभइ सतहमा सुरू गर्न गराउनका लागि दबाब दिन आग्रह गरे ।

निजगढबासीले केही दिनदेखि जारी राखेको चक्काजामसहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, ‘सर्वोच्चको पूर्णपाठ नआएसम्म आन्दोलन स्थगित गर्नुस् । पूर्णपाठ हाम्रै पक्षमा आउँछ भन्नेमा विश्वस्त छु । विपक्षमा आए फेरि आन्दोलन गरौंला ।’

मुख्यमन्त्रीको आग्रहपछि आन्दोलनरत सरोकार समिति चक्काजाम कार्यक्रम आजैबाट स्थगित गरेको बताइएको छ । उनीहरूले रिले अनसन भने जारी राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर