अस्तित्व मेटाउन खोजिएको एमालेले चुनावबाट देखाइदियो : केपी ओली (भिडिओ) – Nepal Press

अस्तित्व मेटाउन खोजिएको एमालेले चुनावबाट देखाइदियो : केपी ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रृंखलाबद्ध आक्रमण छिचोलेर स्थानीय चुनावबाट एमाले प्रमुख राजनीतिक पार्टी भएको बताएका छन् ।

पार्टीबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउन अरु सबै शक्ति लागेपनि त्यो पूरा नभएको बताए ।

ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताए ।

‘सबै एकातिर भएर लोकतान्त्रिक अभ्यासको नाममा तानाशाह ढंगले अनेक प्रोपोगाण्डा मच्चाइयो यस्तो अवस्थामा चुनावको सामना गर्नुभयो चानचुने कुरा होइन’, ओलीले भने ।

जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब-किताब हुने चेतावनी दिए ।

अध्यक्ष ओलीले राज्यशक्तिको परिचालन गरेर चुनावमा एमालेविरुद्ध हथकण्डा, जालझेल, हत्या, कुटपिटजस्ता अपराधिक क्रियाकलाप गरिएको आरोप लगाए ।

‘एमालेलाई अध्यक्षबाट मात्र हैन साधारण सदस्यबाट समेत निष्कासन गर्ने झूटा र निराधार आरोप लगाइ उतिखेरैबाट सिध्याउन खोजिएको थियो । जीवनमरणको लडाइँ लड्दै महासंग्राम जितेर आउनुभयो । अस्तित्व मेटाउन खोजेको एमाले प्रमुख राजनीतिक पार्टी भयो ‘, ओलीले भने ।

उनले एमालेबाहेक कुनै पार्टीसँग भिजन नै नभएको भन्दै नमुनाको रूपमा आफूलाई प्रस्तुत गर्न सक्नुस् भनी जनप्रतिनिधिलाई शुभकामना दिए ।
‘५ वर्ष हाइहाइ भएर काम गर्नुस् । आलोचना गर्ने ठाउँ नै नराख्नुस्’, ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर