बागमतीमा प्रमुख प्रतिपक्षको दाबी : बजेट ‘हावादारी’ छ, कार्यान्वयन हुन सक्दैन – Nepal Press

बागमतीमा प्रमुख प्रतिपक्षको दाबी : बजेट ‘हावादारी’ छ, कार्यान्वयन हुन सक्दैन

हेटौँडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेट हावादारी भएकाले कार्यान्वयन हुन नसक्ने नेकपा एमालेका नेताहरूले बताएका छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बजेट निर्वाचनमुखी मात्र भएको बताए ।

उनले भने, ‘बजेट सुन्दा केहि आकर्षक देखिएको छ तर दूरगामी प्रभाव पार्ने, आयतलाई प्रतिस्थापन गर्ने कुनै ठोस योजना आएन, बजेटको भोलुम गत वर्ष भन्दा करिब १५ अर्ब बढाइयो तर श्रोतको ग्यारेन्टी नहुँदा यो बजेट कुनै पनि हालतमा कार्यान्वयन हुनै सक्दैन ।’

आगामी निर्वाचनलाई लक्षित गरेर वितरणमुखी बजेट प्रस्तुत भएको भन्दै पौडेले यस्ता प्रकारको बजेटले प्रदेशको विकास नहुने बताए ।

करिब ५ महिना आयु भएका सरकारले पाँच महिनाभित्र कामनै गर्न नसकिने केहि योजना प्रचार गर्नको लागि मात्र ल्याएको भन्दै पौडेलले जनतालाई आभास हुने गरी कुनै कार्यक्रमहरू बजेटमा नपरेको बताए ।

बजेटको विषयमा प्रतिक्रिया दिँदै बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले ल्याएको बजेट हावादारी भएको बताएका छन् ।

पूर्व अर्थमन्त्री ढुंगेलले सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरेर जनता झुक्काउने खालको मात्र बजेट ल्याएको बताए ।

उनले भने ‘बजेट पुरै हावादारी छ, यसमा केहि पनि छैन, किसानलाई मल छैन, अनुदान छैन, शिक्षा स्वास्थ्यमा कुनै ठोस योजना छैन, सरकारको आयु छ महिना पनि छैन तर सुरुङ खन्ने जस्ता महत्त्वका योजना ल्याइएको छ त्यसैले यो योजना पुरै हावादारी छ ।’

बजेटको विषयमा प्रतिक्रिया दिँदै बागमती नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले बजेट यथार्थपरक नभएको बताएका छन् ।

बजेटले बढाइएको मन्त्रालयको र उनीहरूको सचिवालयको कर्मचारीको मात्र खर्च व्यवस्थापनको लागि ध्यान दिएको उनले बताए ।

श्रोत ग्यारेन्टी नगरी बजेटको ‘भोलुम’बढाएको उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर