सीईओ हटाउन नसकेपछि पर्यटन बोर्डका सदस्य हटाउँदै मन्त्री आले – Nepal Press

सीईओ हटाउन नसकेपछि पर्यटन बोर्डका सदस्य हटाउँदै मन्त्री आले

काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हटाउन असहयोग गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बोर्डका दुईजना सदस्यलाई हटाउने प्रक्रिया अघि बढाएका छन् ।

मन्त्रालय स्रोतका अनुसार निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने कृष्ण शाह र ङावा ङिमा शेर्पालाई आजै हटाएर नयाँ सदस्य नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ ।

बोर्डका सीईओ डा. धनन्जय रेग्मीलाई हटाउन छानबिन समिति गठनसँगै निलम्बनमा परेपनि सर्वोच्च अदालतले उनीमाथि कुनै पनि कारबाही अघि नबढाउन आदेश दिएपछि मन्त्री र सीईओबीच विवाद बढेको थियो ।

पछिल्लोपटक सोमबारको बोर्ड बैठकको अन्तिम एजेण्डामा सीईओको विषय पनि थियो । तर, सो विषयमा बोर्डका सदस्यहरूबीच एकमत नभएपछि कुनै निर्णय भएन । बोर्डमा पदेन सहभागी अर्थ र वन मन्त्रालयका सहसचिवले आफूहरु विवादित प्रक्रियामा भाग नलिने बताएका थिए । सिइओ हटाउँने पक्षमा उपाध्यक्ष चन्द्र रिजालबाहेक सरकारका प्रतिनिधिहरु नै तयार नभएपछि अरु सदस्य बाहिरिएका थिए ।

निजी क्षेत्रबाट बोर्डमा प्रतिनिधित्व गर्ने कृष्ण शाहले अदालतमा मुद्दा विचाराधीन रहेको र सीईओको तर्फबाट अवहेलना मुद्दासमेत खेपिरहेको भन्दै आफू अदालती सजायको भागीदार नहुँने र बोर्डलाई गिजोल्दा भर्खर तंग्रिन लागेको पर्यटन उद्योगमा असर पर्ने भन्दै असहमति जनाएका थिए ।

शेर्पाले  पर्यटन प्रबद्र्धनमा लाग्नुपर्ने बेलामा सिइओ हटाउँने र अदालती झमेलमा फस्ने काममा लाग्दा प्रत्युत्पादक हुने भन्दै परिपक्व निर्णय गर्नुपर्ने बताएका थिए ।

पर्यटनबोर्डका अर्का सदस्य मदन आचार्यले पनि बैठकमा कानूनी प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोर्डले फेरि निर्णय गर्दा पुनः न्यायिक विषय उठ्ने भन्दै विचार गर्नुपर्ने बताएका थिए ।

बोर्डमा पदेन सदस्यका रुपमा सहभागी अर्थमन्त्रालयका सहसचिव अर्जुन कुमार खड्काले यो विषयमा अदालतको मानहानी आकर्षित हुँने भन्दै अहिले हटाउँने निर्णय गर्नु उपयुक्त नहुने र अरु नै प्रक्रिया खोज्न सुझाव दिएका थिए ।

सरकारका प्रतिनिधिहरुले सिइओ अन्तरिम आदेश लिएर आएको र फेरि निर्णय गर्दा अप्ठेरो पर्ने भन्दै आफू सिइओ हटाउने पक्षमा नरहेको बताएका । उनीहरुले सर्बोच्च अदालतमा विचाराधीन विषयमा निर्णय गर्दा आफूहरु अप्ठेरोमा पर्ने बताएका थिए ।

बोर्ड बैठकमा सहभागी अध्यागमनका महानिर्देशक र अर्थ मन्त्रालयका सचिव आफूहरु अदालतमा विचाराधीन मुद्दाको झमेलमा नपर्ने भन्दै आफ्ना धारणा राखेर बाहिरिएपछि सिइओ हटाउँन कोरम नपुगेको र बैठक स्थगित भएको स्रोतले जनाएको छ ।
सीईओ हटाउने बैठकमा कोरम नपुगेका कारण स्थगित भएपछि तत्काल सरकार फेरबदल हुनुअघि नै दुई सदस्य हटाउन लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।

पर्यटन व्यवसाय आबद्ध संस्थाहरूले भने बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई हटाइएमा विरोध चर्काउने चेतावनी दिएका छन् । यसअघि बोर्ड सदस्यहरूलाई राजनीतिक पूर्वाग्रहले हटाउँदा अदालतबाट फर्केर आएको नजिर देखाउँदै मन्त्रीले हटाए पनि उनीहरू फर्केर आउँने दाबी पर्यटन बोर्डका अधिकारीहरूको छ ।

सीईओ रेग्मीले भने मन्त्रीले आफ्नो स्वार्थअनुसार काम नगर्ने र भनेबमोजिम गर्न नसक्नेहरूमाथि पूर्वाग्रही भएर हटाउने तथा दुर्व्यवहार गर्ने गरेको र त्यसको शिकार आफू भएको बताएका छन् । उनले आफू कानूनबमोजिम चल्ने र अदालतको आदेशविपरीत जान खोजिए न्यायका लागि अदालतमै जाने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर