छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु – Nepal Press

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

धादिङ । धादिङको इजारा र सिस्ने खोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–३ इजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा नीलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूको धादिङ अस्पतालमा उपचार भइरहेको डा. मधुकर दाहालले जानकारी दिए । उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नौबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालवाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनी ट्रक र बा८२प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते नीलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौँमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *