बालेन्द्रलाई सुनाउँदै वागमतीका अर्थमन्त्रीले भने : काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान पाइन्न – Nepal Press

बालेन्द्रलाई सुनाउँदै वागमतीका अर्थमन्त्रीले भने : काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान पाइन्न

काठमाडौं । वागमती प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री सालिकराम जमकट्टेलले काठमाडौंको फोहोरको भार अरू पालिकाले बोक्न नसक्ने जिकिर गरेका छन् ।

बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने उद्घोषसमेत उनले गरे ।

काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलकै सामुन्ने जमकट्टेलले यस्तो बताएका हुन् ।

हिजो हेटौँडामा बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा काठमाडौंका मेयर र उपमेयर पनि सहभागी थिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले कार्यक्रमको प्रमुख आतिथ्यता गरेका थिए ।

जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रममा अर्थमन्त्री जमकट्टेल भने काठमाडौं महानगरमाथि खनिए ।

उनले एउटा पालिकाले अर्को पालिकालाई हस्तक्षेप गर्न नमिल्ने भन्दै काठमाडौंका मेयरले बञ्चरेडाँडामा फोहोर फ्याँक्ने विषयमा गरेको समझदारीप्रति असन्तुष्टि जनाए ।

जमकट्टेलले भने, ‘काठमाडौंवासीले गरेको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? यस्तो अब कदापि सैह्य हुँदैन । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’

जमकट्टेलले काठमाडौंको फोहोर काठमाडौंभित्रै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न वडा–वडालाई जिम्मा दिनुपर्ने उनले बताए ।

जमकट्टेलपछि बोलेका मुख्यमन्त्री पाण्डेले भने केही सन्तुलित भनाइ राखे । उनले मन्त्री जमरकट्टेल भनाइ उनको व्यक्तिगत धारणा भएको स्पष्टीकरण दिएका थिए । यद्यपि, काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नु नै दिगो समाधान नभएको उनको पनि भनाइ थियो ।

जमरकट्टेल अभिव्यक्तिप्रति काठमाडौंका मेयर साह निकै आक्रोशित देखिएका थिए । जमकट्टेल बोल्दाबोल्दै उनी हलबाट बाहिरिएका थिए । उपमेयर डंगोल भने उठिनन् । यद्यपि उनी पनि जमकट्टलप्रति असन्तुष्ट देखिएकी थिइन् ।

अर्थमन्त्री जमकट्टेल धादिङ जिल्लाका प्रदेश सांसद हुन् ।

माओवादीका मजदुर नेता जमकट्टेलले २०७४ सालको प्रदेश चुनावमा वाम गठवन्धनबाट जित हासिल गरेका थिए ।


प्रतिक्रिया

4 thoughts on “बालेन्द्रलाई सुनाउँदै वागमतीका अर्थमन्त्रीले भने : काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान पाइन्न

  1. पैसा कमाउन उठायाे मुद्दा । फाेहाेर कहाँ फाल्ने तिम्राे अफिसमा ?

    1. पैसा कमाउन होइन होला अब फेरि चुनाब जित्न राम्रो नाटक गरेजस्तो लाग्यो

      1. के बन्चरेडाडाम फोहरफाल्न बालेनले सुरु गरेकोहो ? हिजो तिमिहरुको काका बिध्या सुन्दर हुदा किन भन्न सकेनौ ? तिमिहरु (राजनिती पार्टी)को कारणले बालेन , हर्क साङ्पाङ जस्ता नेपालका सचचा देशभक्त छोराहरुले स्थानिय निकाय को नेतृत्व सम्हाल्न पुगेका छ्न अब फेरि प्रतिनिधि र प्रदेश सभामा यस्ता नेपालका कति सपुतहरु ले नेपाल आमाको रक्षा गर्ने जिम्मा लिनेछन अनि देखौला तिम्रा चुरी फुरी ।

  2. अब फोहोर व्यवस्थापनको जिम्मेवारी त मुख्य मन्त्रीको पनि हुन आउलान् नी की बालेन् कै टाउकोमा मात्र थुपारेर ठूला ठूला कुरा मात्रै गर्दै हिड्ने हो माननीय ज्यू कुरो भन्दा बढी काम गर्नुस् हामी सुन्न भन्दा पनि हेर्न चाहेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर