विश्वकप फुटबलअघि फ्रान्सको कमजोर लय, दबाबमा दुई लिगका सर्वाधिक गोलकर्ता – Nepal Press

विश्वकप फुटबलअघि फ्रान्सको कमजोर लय, दबाबमा दुई लिगका सर्वाधिक गोलकर्ता

पेरिस । यसै वर्षको अन्त्यतिर कतारमा आयोजना हुने विश्वकप फुटबलअघि साविक विजेता फ्रान्सले लगातार कमजोर प्रदर्शन गरिरहेको छ ।
फ्रान्सले पछिल्ला ४ खेलमा एउटा पनि जित हात पार्न सकेको छैन । युईएफए नेसन्स लिग ‘ए’अन्तर्गत सोमबार राति भएको खेलमा क्रोएसियाले फ्रान्सलाई १-० गोलले हरायो । हारसँगै प्रतियोगिताको साविक विजेता फ्रान्स अगाडि नबढ्ने निश्चित भएको छ ।

लिग ‘ए’मा ४ खेलबाट ९ अंक भएको डेनमार्क तालिकाको शीर्ष स्थानमा छ । चार खेलपछि क्रोएसियाको ७, अस्ट्रियाको चार र फ्रान्सको दुई अंक छ ।

फ्रान्सले दुई बराबरी र दुई हारको नतिजा निकालेको छ । पहिलो खेलमा डेनर्माकसँग १-० गोलले पराजित फ्रान्सले त्यसपछि लगातार दुई खेलमा अस्ट्रिया र क्रोएसियासँग बराबरी खेलेको थियो । बराबरी भएका दुवै खेलमा फ्रान्स १-१ गोलमा रोकिएको थियो ।

फ्रान्समा अहिले युरोपका शीर्ष ५ घरेलु लिगमध्ये दुईवटामा गत सिजन सर्वाधिक गोल गरेका खेलाडी छन् । करिम बेन्जेमाले गत सिजन स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडका लागि घरेलु लिग र युरोपियन च्याम्पिन्स लिग दुवैको उपाधि जितेका थिए । बेन्जेमा घरेलु लिग र च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोलकर्ता बनेका थिए ।

बेन्जेमाले च्याम्पियन्स लिगमा १५ र ला लिगामा २७ गोल गरेका थिए । यी सफलतापछि बेन्जेमा यो सिजन फिफा वर्ष खेलाडी र बेलोन डीअरका प्रबल दावेदार देखिएका छन् ।

फ्रान्सको टोलीमा रहेका अर्का खेलाडी केलियन एमबाप्पेले गत सिजन फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानमा सर्वाधिक गोल गरेका थिए । एमबाप्पेले २५ गोल गरेका थिए । उनले घरेलु लिगको उपाधि पनि जितेका थिए ।

एमबाप्पे सन् २०१८ मा फ्रान्सले विश्वकप उपाधि जित्दाका मुख्य सदस्य हुन् । बेन्जेमाको पनि भूमिका सामान्य थिएन । त्यतिबेला फ्रान्सले फाइनलमा क्रोएसियालाई हराएको थियो ।

फ्रान्सको टोलीमा यतिबेला एन्टोइन ग्रिजम्यान, किङ्सली कोम्यान, बेन्जामिन पाभार्ड, प्रेसनेल किम्बेपेलगायत खेलाडीहरु छन् । टोलीमा रहेका अर्का मिडफिल्डर क्रिस्टोफर एन्कुन्कु गत सिजन बुन्डेस लिगाका चौथो सर्वाधिक गोलकर्ता हुन् । आरबी लेइपजिगबाट उनले जर्मनीको प्रिमियर लिग फुटबलमा २० गोल गरेका थिए ।

फ्रान्सका लागि बेन्जेमाले ९६ खेलमा ३७ गोल, एमबाप्पेले ५६ खेलमा २७ गोल र ग्रिजम्यानले १०७ खेलमा ४२ गोल गरेका छन् ।

फ्रान्सको पछिल्लो लय उसको अस्वाभाविक प्रदर्शनका रुपमा रहेको छ । फ्रान्सले सन् २०१८ विश्वकप जितेपछि ६ खेलमा हार ब्यहोरेको छ भने ३० खेल जितेको छ। हारेकामध्ये एक खेल बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो । पछिल्लो चार खेलको जितविहीन यात्राअघि फ्रान्सले दुई खेल बराबरी र त्यसपछि लगातार सात खेल जितेको थियो । त्यसयता डेनमार्कले उसलाई स्तब्ध बनाएको थियो ।

सोमबार राति फ्रान्सले घरेलु मैदानमै हार ब्यहोरेको हो । फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्प्सले पछिल्लो नतिजापछि निराशा व्यक्त गरेका छन् । ‘परिणामको हिसाबले जुन महिना हाम्रा लागि अप्ठेरो रह्यो । हाम्रो टोलीमा पर्याप्त जोश र जाँगर देखिएन’, डेस्च्याम्प्सले भनेका छन्, ‘हामीले आत्मविश्वास पनि गुमाएका छौँ । लगातार धेरै खेल खेल्दा थकान पनि भएको हुन सक्छ ।’

फ्रान्सले अन्तिम दुई खेल आगामी सेप्टेम्बरमा खेल्ने छ । ती खेलमा अनुकूल नतिजा नआए नेसन्स लिग ‘बी’मा घटुवा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर