मन्त्री पौडेलको जवाफ- सरकारले शिक्षालाई प्राथमिकता दिएन भन्न मिल्दैन (सवालजवाफसहित) – Nepal Press

मन्त्री पौडेलको जवाफ- सरकारले शिक्षालाई प्राथमिकता दिएन भन्न मिल्दैन (सवालजवाफसहित)

‘सबै मन्त्रालयभन्दा बढी बजेट शिक्षामा छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रराज पौडेलले आफूहरूले आपत्ति जनाएपछि शिक्षामा बजेट बढेर आएको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयबाट शिक्षामा निरन्तरताको सिलिङ आउँदा आफूहरूले आपत्ति जनाएको उनले दाबी गरे । त्यसपछि मात्रै बजेट बढेर आएको उनले बताए ।

मन्त्री पौडेलले आज प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिने क्रममा यस्तो बताएका हुन् । ‘सिलिङ आउने बेला निरन्तरताको सिलिङ आयो । हामीले आपत्ति प्रकट गर्‍यौँ’, उनले भने, ‘गत वर्षभन्दा घट्ने प्रकारको सिलिङ प्राप्त भएपछि फेरि त्यही प्रकारको लबिङ गर्‍यौँ र थोरै प्रतिशत भए पनि शिक्षा बजेट बढेको छ ।’

त्यसअघि बजेटको छलफल चल्ने बेलामा हामीलाई पनि अर्थ मन्त्रालयबाट आमन्त्रण गर्दादेखि नै शिक्षामा बजेट बढाउन आफूले धारणा राखेको उनले बताए । अघिल्ला दुई वर्ष कोभिड १९ भएकाले स्वास्थ्यलाई प्राथमिकता दिएको र अहिले पनि स्वास्थ्य मौलिक हक भएकाले पनि प्राथमिकता दिनुपर्ने कुरामा आफूले जोड दिएको उनले बताए ।

‘तर, अन्तर्राष्ट्रिय मान्यताअनुरुप शिक्षा नै सबै विकासकाे ढोका भएकाले यो पटक शिक्षाको बजेट वृद्धि गरियोस् भनेर हामीले विशेष अनुरोध गर्‍यौँ,’ मन्त्री पौडेलले भने,‘लगत्तै प्रधानमन्त्रीकहाँ गएर मैले शिक्षा र बजेटका बारेमा अनुरोध गरेँ । त्यसैगरी शिक्षा मन्त्रालयको टिमसहित हामीले योजना आयोग गएर पनि अनुरोध गर्‍यौँ ।’

प्रतिनिधिसभामा केही सांसदहरूले ‘शिक्षामा २० प्रतिशत किन बढेन ?’ भनेर सोधेको विषयमा मन्त्री पौडेलले २० प्रतिशत नै नभए पनि केही न केही प्रतिशत बढेको बताए । ‘नेपाल सरकारले शिक्षामा प्राथमिकता नै दिएन भन्न मिल्दैन । शिक्षाको बजेट नै पहिलो बजेटका रुपमा छ । २० प्रतिशत पाएको भए राम्रो हुन्थ्यो । तर पनि सबै मन्त्रालयभन्दा बढी विनियोजन भएको छ’, उनले भने ।

मन्त्री पौडेलका अनुसार सरकारले प्रस्ताव गरेको आव २०७९/७० को कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बजेटमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १० दशमलव ९५ प्रतिशत विनियोजन भएको छ । उनले भने, ‘मन्त्रालयबाट कार्यान्वयन हुने संघ, प्रदेश र स्थानीय तहका लागि जम्मा १ खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । जुन अहिले रहेका सबै २५ मन्त्रालयभन्दा बढी हो ।’

उनले विगत वर्षको ट्रेन्ड हेर्दा शिक्षा मन्त्रालयमा ८ देखि १६ प्रतिशत बजेट आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर