रोपाइँका बेला चार जिल्लालाई ५,६४१ बोरामात्रै मल ! – Nepal Press

रोपाइँका बेला चार जिल्लालाई ५,६४१ बोरामात्रै मल !

सिन्धुपाल्चोक । कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेल शाखाले सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लाका लागि मलको कोटा निर्धारण गरेको छ ।

शाखाले काभ्रेका १३ पालिकालाई २,१५५ बोरा युरिया र १,१६५ बोरा डीएपी मलको कोटा निर्धारण गरेको छ । त्यस्तै सिन्धुपाल्चोकका १२ स्थानीय तहका लागि १४२६ बोरा युरिया र ६५० बोरा डीएपी मलको कोटा निर्धारण गरिएको छ ।

दोलखाका लागि भने अहिले शैलुङ गाउँपालिकालाई मात्र मल उपलब्ध गराउने भएको छ । उक्त गाउँपालिकालाई ६० बोरा युरिया र १५ बोरा डीएपी मल उपलब्ध गराइने शाखाले जनाएको छ ।

रामेछापका सुनापती र दोरम्बा गाउँपालिकालाई पनि कोटाअनुसार मल उपलब्ध गराउन लागेको धुलिखेल शाखाले जनाएको छ । शाखाका अनुसार सुनापातिका लागि ९० बोरा युरिया र ३० बोरा डीएपी तथा दोरम्बाका लागि ४० बोरा युरिया र १० बोरा डीएपी मल उपलब्ध गराउन लागिएको हो ।

चार जिल्लाका २८ स्थानीय तहका लागि ३,७७१ बोरा युरिया र १८७० बोरा डीएपी गरी जम्मा ५,६४१ बोरा मल उपलब्ध गराउन लागेको कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सबै पालिकामा रहेका डिलरलाई मात्रै मल उपलब्ध गराइनेछ । काभ्रेमा २३३, सिन्धुपाल्चोकमा १३०, दोलखामा ३ र रामेछापमा ८ डिलरमार्फत कृषकहरुलाई मल उपलब्ध गराइने कृषि कम्पनीले जानकारी दिएको छ ।

कोटा उपलब्ध गराइए पनि कम्पनीका कर्मचारीहरुले ‘ब्ल्याक’ मा मल दिने गरेको सहकारीहरुले गुनासो गरेका छन् । मलको लागि दुई दिनदेखि आए पनि कम्पनीले मल उपलब्ध नगराएको सिन्धुपाल्चोकस्थित एक सहकारीका पदाधिकारीले गुनासो गरे ।

‘पहुँच हुनेहरुलाई मिलेमतोमा भित्रैबाट मल उपलब्ध गराउने गरेका छन्’, उनले भने, ‘तर, हामीलाई टोकन दिएको दुई दिन भैसक्यो, मल पाउन सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *