अन्तर्राष्ट्रिय बजारमै उतारचढाव भएकाले मल ल्याउन सकिएनः कृषिमन्त्री यादव – Nepal Press

अन्तर्राष्ट्रिय बजारमै उतारचढाव भएकाले मल ल्याउन सकिएनः कृषिमन्त्री यादव

काठमाडौं । कृषिमन्त्री महेन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमै मलको अभाव भएकाले नेपालसम्म ल्याउन कठिनाइ भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रस्तुत गरेको स्थगन प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले सरकारले मल ल्याउन सम्पूर्ण प्रयास गरिरहेको बताए ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय मलको सहज आपूर्तिका लागि प्रयासरत भए पनि यस अवधिमा अन्तर्राष्ट्रिय बजारमै देखिएको उतारचढावका कारण मल आपूर्तिमा असहजता आएको हो’, मन्त्री यादवले भने ।

मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङले १ लाख १७ हजार मेट्रिक टन गरी २ लाख २२ हजार मेट्रिक टन रासायनिक मल ल्याउन खोजिएकोमा समयसीमाभित्र आपूर्तिकर्ताले उपलब्ध गराउन नसक्दा अभाव देखिएको मन्त्री यादवले बताए । समयमै आपूर्ति गर्न नसक्ने कम्पनीहरुसँगको ठेक्का रद्द गरी कारबाही प्रक्रिया थालिएको यादवले बताए ।

युरिया , डीएपी र पोटास मल किसानलाई सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले १५ अर्ब अनुदान दिएको र थप मल आयात गर्न २ पटक गरी १२ अर्ब ७२ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको कृषिमन्त्री यादवले जानकारी दिए ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुले अति सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै किसानलाई तत्काल मल उपलब्ध गराउन माग गरेका थिए ।


प्रतिक्रिया

One thought on “अन्तर्राष्ट्रिय बजारमै उतारचढाव भएकाले मल ल्याउन सकिएनः कृषिमन्त्री यादव

  1. चिनीकाे भाउ पनि त्यस्तै छ । तिम्राे घरमा चिनी आउँछ कि आउँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर