जिल्ला इन्चार्ज, संयोजकसहितलाई बर्खास्तीकाे माग लिएर उदयपुरका माओवादी नेता खुमलटारमा – Nepal Press

जिल्ला इन्चार्ज, संयोजकसहितलाई बर्खास्तीकाे माग लिएर उदयपुरका माओवादी नेता खुमलटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्र उदयपुरकाे विद्रोही समूहले जिल्लामा माओवादी केन्द्रका इन्चार्ज, संयोजक र सचिवलाई बर्खास्त गर्न प्रचण्डसँग माग गरेकाे छ ।

माओवादी केन्द्रको उदयपुर नेतृत्वले पटक-पटक पार्टी विधानविपरीत काम गरेको भन्दै उक्त समूहले जिल्ला इन्चार्ज सुरेश राई, संयोजक दिवस कटुवाल र सचिव किरण राईलाई बर्खास्त गर्न पार्टी अध्यक्षसँग माग गरेकाे हाे ।

प्रचण्ड निवास खुमलटारमा जिल्लाबाट काठमाडौंमा आएका पाँच दर्जन नेता-कार्यकताले जिल्ला इन्चार्ज, संयोजक र सचिवलाई कारबाही नगरे आफूहरुले पार्टी त्याग्ने चेतावनीसमेत दिएको उदयपुरका माओवादी संस्थापक भीम अधिकारी ‘अनिल’ले बताए ।

जिल्लाको मुख्य नेतृत्वले सङ्गठन निर्माण र पार्टी योजनामा एकलाैटी र मनोमानी गर्ने, वरिष्ठ, इमानदर र पार्टीप्रति दृढ कार्यकर्ताहरुलाई विस्थापित गर्ने, विधानविपरीत जिल्ला समन्वय सचिव तोक्ने जस्ता निर्णयविरुद्ध विभिन्न समयमा सचेत गराउँदै निर्णय सच्याउन माग गरेकोमा हालसम्म सुनुवाइ नभएकाले उदयपुरको जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवको बर्खास्तीको लागि आफूहरु अध्यक्षकोमा पुगेको अधिकारीले जानकारी दिए ।

आफूहरुलाई अध्यक्ष प्रचण्डले असार १५ गतेबाट पार्टीको बैठक बस्ने भएकाले त्यसपछि प्रक्रिया अगाडि बढ्ने आश्वासन दिएको सो समूहका नेता यदु ढकालले बताए ।

नेताहरुले अझै पनि गडबढी गर्ने सुरेश राईलाई कारबाही नगरे आफूहरु माओवादी छाड्न बाध्य हुनेतर्फ अध्यक्षलाई सचेत गराइएको उनको भनाइ छ ।

उदयपुरमा सशस्त्र युद्धको समयमा २०५९ सालमा माओवादीसँग एकता भएको गोपाल किराँती नेतृत्वको किराँत वर्कसबाट आएका नेता र पूर्वमाओवादी नेताहरुबीच अन्तरसंघर्ष हुँदै आएको छ । यही कारण गत स्थानीय निर्वाचनमा माओवादीले उदयपुरमा क्षति व्यहोर्नु परेको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर