प्रश्नपत्र हुबहु प्रकरण छानबिन गर्न त्रिविले बनायो समिति – Nepal Press

प्रश्नपत्र हुबहु प्रकरण छानबिन गर्न त्रिविले बनायो समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति बनाइएको जानकारी दिए ।

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । यो समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय तोकिएको छ ।

त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।

मानविकी संकायको जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको सँग हुबहु मिलेको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर