झलनाथको गृहजिल्लामा एमाले-नेकपा एस गठबन्धन, जिससको एमाले नेतृत्वमा जसपा पनि मिसियो – Nepal Press

झलनाथको गृहजिल्लामा एमाले-नेकपा एस गठबन्धन, जिससको एमाले नेतृत्वमा जसपा पनि मिसियो

विराटनगर । नेपाली कांग्रेससँग गठबन्धन गरेर इलामको सूर्योदय नगरपालिकामा जित निकालेको नेकपा एकीकृत समाजवादीले कार्यपालिका निर्वाचन र जिल्ला समन्वय समितिमा भने नेकपा एमालेसँग तालमेल गरेको छ ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहनगर समेत रहेको सूर्योदय नगरपालिकामा कांग्रेससँगको गठबन्धन तोड्दै एसले कार्यपालिका निर्वाचनमा एमालेसँग बराबरी सदस्य बाँडेर कांग्रेसलाई क्लिनस्वीप गरेको थियो ।

त्यसलगत्तै जिल्ला समन्वय समिति निर्वाचनमा पनि एमालेसँग नेकपा एस र जनता समाजवादी पार्टीले तालमेल गरेका छन् । असार ४ गते हुने निर्वाचनका लागि आइतबार भएको मनोनयनमा एमालेले जिसस प्रमुखसहित ५ सदस्य लिएको छ भने नेकपा एसलाई उपप्रमुखसहित दुई सदस्य दिइएको छ । जसपाले पनि दुई सदस्य पाएको छ ।

जिसस प्रमुखमा एमालेबाट पुराना वामपन्थी नेता जयप्रकाश राईले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेकपा एसका चित्र बराइलीले उम्मेदवारी दिएका छन् । बराईली यसअघि पनि तत्कालीन एमालेबाट जिसस उपसभापति भइसकेका व्यक्ति हुन् ।

इलाममा जिसस गठनका लागि ११ मत आवश्यक पर्छ । एमालेसँग एक्लै १० मत छ भने कांग्रेससँग ७ मत छ । नेकपा एससँग दुई र जसपासँग १ मत रहेको छ । जसपाले यसअघि नै एमालेसँग मिलेर एक उपाध्यक्ष जितेको थियो । जसपा र एमालेमात्र मिल्दा पनि जिसस बन्न अवस्था थियो । तर, नेकपा एससहितको गठबन्धन बनेको हो ।

झलनाथ खनालले कांग्रेससँगको गठबन्धन फलदायी नबनेको र नेकपा एसलाई मतदातामात्र बनाइएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर