सेयर बजारमा नयाँ रेकर्ड राख्दै नेपाल, अब सातामा ६ दिन नै कारोबार – Nepal Press

सेयर बजारमा नयाँ रेकर्ड राख्दै नेपाल, अब सातामा ६ दिन नै कारोबार

काठमाडौं । सरकारले जेठ १ गतेदेखि हप्तामा दुईदिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सबैतिर २ दिने बिदाको विरोध भएपछि सरकार पछि हट्यो । र, २ दिने बिदा असार १ गतेबाट हटाउने निर्णय गरियाे ।

हप्तामा ५ दिन कारोबार भइरहेको सेयर बजार आइतबार सार्वजनिक बिदा भएपछि शुक्रबार पनि कारोबार हुन थाल्यो । पहिले आइतबारबाट बिहीबारसम्म सेयर कारोबार हुने गरेको थियो । तर, आइतबार बिदा भएपछि शुक्रबार पनि सेयर कारोबार सुरु भएको थियो । सरकारले आइतबारको बिदा हटाए पनि अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ ।

अब आइतबारदेखि बिहीबारसम्म पहिले जस्तै बिहान ११ बजेबाट ३ बजेसम्म सेयर कारोबार हुनेछ । शुक्रबार बिहान ११ बाट दिउँसाे १ बजेसम्म मात्रै सेयर कारोबार हुने भएको छ । विश्वका अन्य देशमा साताको ५ दिनमात्रै सेयर कारोबार हुने गरेको छ । तर, नेपालमा आगामी असारदेखि सातामा ६ दिन सुरु हुने भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले असारबाट हप्तामा ६ दिन सेयर कारोबार हुने बताए । उनले भने, ‘अब असारदेखि हप्तामा ६ दिन नै सेयर कारोबार गर्ने निर्णय भएको छ । आइतबारदेखि बिहीबारसम्म बिहान ११ देखि ३ बजेसम्म र शुक्रबार ११ देखि १ बजेसम्म सेयर कारोबार हुन्छ । अन्य देशमा हप्तामा ५ दिनमात्रै सेयर कारोबार हुने गरेको छ । नेपालमा भने हप्तामा ६ दिन नै सेयर कारोबार सुरु हुन लागेको हो । कारोबार ६ दिन हुँदा कुनै समस्या हुँदैन होला ।’

यसरी कारोबार गर्दा नेपालले पूँजी बजारमा संसारमै नयाँ रेकर्ड राख्दैछ । पूँजी बजारको इतिहासमा संसारमै हप्तामा ६ दिन सेयर कारोबार गर्ने देश नेपाल बन्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर