बालकोटमा नारायणकाजीका दुई घण्टा, भूराजनीतिको चिन्ता कि वाम गठबन्धनको चिन्तन ? – Nepal Press

बालकोटमा नारायणकाजीका दुई घण्टा, भूराजनीतिको चिन्ता कि वाम गठबन्धनको चिन्तन ?

काठमाडौं । वाम गठबन्धनको सम्भावनालाई नेकपा एमाले र माओवादी केन्द्रको संस्थापनले अस्वीकार गरिरहेका बेला प्रचण्डसँग पार्टीभित्र फरक मत राखिरहेका माओवादी नेता नारायणकाजी श्रेष्ठ आइतबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अर्थपूर्ण भेट गरेका छन् ।

अर्थपूर्ण यसकारण कि यो भेटलाई दुवै पक्षले सकेसम्म गोप्य राख्न खोजेका थिए । यतिसम्मकी दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी थिएन । माओवादी नेता श्रेष्ठ करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर फर्किएको स्रोतले जनाएको छ ।

बालकोट वार्ताको पुष्टि गर्दै माओवादी नेता श्रेष्ठले देशको राजनीतिक परिस्थिति र भूराजनीतिको बारेमा छलफल भएको बताए । उनले वाम गठबन्धन वा चुनावी तालमेलबारे त्यस्तो कुराकानी नभएको दाबी गरे ।

नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता श्रेष्ठले भने, ‘मुलुकको एउटा प्रमुख राजनीतिक पार्टीका नेतासँग भेटघाट हुनु स्वाभाविक हो । देशको परिस्थिति, नेपालको राजनीतिक स्थिति यस्तै यस्तै कुरामा छलफल भएको हो । अरु त्यस्तो कुनै कुरा होइन ।’

श्रेष्ठले २ घण्टासम्म ओलीसँग वार्ता गरेको बारेमा सूचना थाहा पाएका माओवादीका नेताहरूले पनि चासो राखेका छन् । पछिल्लो समय भूराजनीतिक मामिलामा गठबन्धन सरकारले देखिने र बुझिनेगरी चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिएको र अमेरिकी सामरिक गतिबिधिमा नेपाललाई सामेल गराएकोमा श्रेष्ठले असन्तुष्टि जनाइरहेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले नेपालको परराष्ट्र नीतिविपरीत सरकारले चीनविरोधीहरूलाई चलखेल गर्न दिएको तथा बीआरईका सन्दर्भ प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र एमसीसीको कथित व्याख्यात्मक घोषणाका नाममा त्यसलाई पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेता केपी शर्मा ओलीले यीनै विषयमा गठबन्धनको आलोचना गरेको लगत्तै श्रेष्ठले राष्ट्रियसभामा यीनै प्रश्न उठाएका थिए । राष्ट्रिय हित र विदेश नीतिका सन्दर्भमा ओलीसँग आफ्नो लाइन मिलेको श्रेष्ठले बालको वार्तामा समेत बताएका छन् । मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता चिन्तित रहेको निकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘चिनियाँहरूले के हुन लागेको हो भनेर बारम्बार सोधिरहेका छन् । नेपालले देखिने गरी नै एक चीनि नीतिविपरीत गतिविधि गर्न छुट दिइरहेको छ, अमेरिकी सैन्य रणनीतिको अंग बन्न लागेको पनि देखिन्छ । एक चीन नीति औपचारिकरूपमै छाड्न लागेको हो कि भन्ने प्रश्न पनि उठेका छन् । बीआरआईको सन्दर्भमा प्रधानमन्त्रीले बोलेका कुरा झनै गम्भीर छन् । यी विषयमा प्रचण्डको आधिकारिक दृष्टिकोण के हो ? चिनियाँले पनि सोधेका छन् । मुलतः बालकोट वार्ता यस्तै विषयमा केन्द्रित हो ।’

चिनियाँहरूले वर्षमान पुनमार्फत पनि पछिल्लो अवस्थाको बारेमा चासो राखेका छन् । वर्षमानको उपचारमात्र होइन चीनले जीवनदान नै दिएको चर्चा चल्ने गरेको छ । पार्टीभित्र कांग्रेससँगको गठबन्धन निरन्तरताप्रति वर्षमान त्यति आशावादी नरहेको बताइन्छ । नारायणकाजी श्रेष्ठ पनि वाम पार्टी विभाजित हुँदा नेपाल भूराजनीतिक संकटमा फस्ने खतरा देखिरहेका छन् ।

एमालेको तर्फबाट अध्यक्ष ओलीदेखि भीम रावल, प्रदीप ज्ञवाली, खगराज अधिकारीलगायतका नेताहरूले नेपाल भूराजनीतिक संकटमा फस्न लागेको र सरकारले कोल्टे कुटनीति लिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । एमालेले औपचारिकरूपमै सरकारसँग जवाफ मागेको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसअघि भइरहेका अमेरिकी गतिविधिहरूलाई एमालेले जस्तै नारायणकाजी, देव गुरुङलगायतका नेताहरूले पनि असामान्य भन्दै सरकारको जवाफ मागेका छन् ।

बालकोट वार्तालाई यीनै रणनीतिक अर्थमा बुझ्न सकिने नेताहरूले बताएका छन् । श्रेष्ठलगायतका नेताहरू केपी ओली र एमालेलाई देखाइदिने प्रतिशोधमा कांग्रेसको सहयोगी बनेर चीनविरोधी मोर्चामा बस्ने कि नयाँ शिराबाट अघि बढ्ने भन्ने प्रश्नसहित माओवादीको आसन्न बैठकमा प्रस्तुत हुने तयारीमा रहेको बताइन्छ । यद्यपि श्रेष्ठले भने ओलीसँग वाम गठबन्धन वा चुनावी सन्दर्भबारे छलफल नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर