देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी, गोलाको सम्भावना बढ्यो – Nepal Press
कैलाली जिसस

देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी, गोलाको सम्भावना बढ्यो

कैलाली । गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएका छन् ।

कैलाली जिसस नेतृत्वका लागि कांग्रेस-माओवादी-नेकपा एसको गठबन्धन छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि राजसमझलाई कारबाही गरिएको थियो ।

राजसमझले १० हजार ४ सय ९२ मत ल्याएर विजयी हुँदा गठबन्धनका उम्मेदवार लाजुराम ६ हजार ४ सय ३० मतमा रोकिएका थिए । आफूलाई कारबाही गरेको भन्दै जिल्ला समन्वय समितिको निर्वाचनमा तटस्थ बस्ने घोषणा गरेका राज समझले अन्ततः गठबन्धनकै उम्मेदवारलाई मत दिने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेपछि उनी गठबन्धनलाई मत दिन तयार भएका हुन् । आफूमाथिको कारबाही फुकुवा नभएसम्म आफूले गठबन्धनका उम्मेदवारलाई मत दिन नसक्ने बताउँदै आएका थिए ।

‘मेरो कारबाही फुकुवा भएको छ’ उनले नेपाल प्रेससँग भने ‘सभापति ज्यूले तपाईं नै कांग्रेसको आधिकारिक उम्मेदवार हो भन्नु भयो । अब म गठबन्धनका उम्मेदवारहरूलाई मत दिन तयार भएको छु ।’

हिजो साँझ स्वकीय सचिव भानु देउवा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले राज समझसँग संवाद गरेका थिए । करिब पाँच मिनेटसम्म दुईजनाबीच संवाद भएको बताइएको छ । यो क्रममा देउवाले राजसमझलाई कांग्रेसको उम्मेदवार भएको बताए । देउवाले जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन पनि आग्रह गरेका थिए ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्रीबाटै फोन आएपछि गठबन्धनमा मत दिने निर्णयमा पुगेको उनले बताए ।

यस्तो छ जिससको जोड घटाउ

कैलाली जिससको निर्वाचन रोचक हुने देखिएको छ । यहाँ १३ पालिकाका २६ जना मतदाता हुन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको छ ।

अध्यक्ष उपाध्यायको मतदानसम्बन्धी निर्णय सर्वोच्च अदालतको भर हुने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बताउँछन् । ‘अहिलेसम्म उहाँले मतदान गर्न पाउनु हुन्न आज १ बजे पेसी छ । फैसलाले थप कुरा निर्धारण गर्छ ।’

उपाध्यायले मतदान गर्न नपाए कैलालीमा २५ जना मतदाता रहन्छन् । २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । यहाँ कांग्रेसले ८, माओवादीले मोहन्याल बाहके ३ र नेकपा एकीकृत समाजवादी १ पालिकामा जित हासिल गरेका थिए ।

अर्को तर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा तटस्थ बस्ने बताइएको छ ।

दलहरूबाट अन्तर्घात नभए, मत बदर नभए र हमाल उम्मेदवार स्वतन्त्र बस्ने अवस्था आए कैलालीमा जिससको नेतृत्व गोला प्रथाबाट चुनिने सम्भावना बढेको छ ।


प्रतिक्रिया

One thought on “देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी, गोलाको सम्भावना बढ्यो

  1. पार्टी अराजकता भनेकाे यहि हाे । देउवाले गरे कारवाही देउवाले फुकुवा भनेपछि फुकुवा । पार्टी हाे कि देउवा एण्ड कम्पनी ? अनि ओलिलाई हुँदै नभएका कुरा भन्ने दलाल मिडिया के भन्छन् त ? सुनाैं न । हुन त दलाली खान पाईएकाे छ के भन्नु नि ? देउवा जिन्दावाद भन्ने दलालीकाे खाम बुझ्ने चुप लाग्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर