भाइरल लटरम्मेश्वर महादेव मन्दिरमा बढ्दो आकर्षण, कसरी जाने ? – Nepal Press
गन्तव्य

भाइरल लटरम्मेश्वर महादेव मन्दिरमा बढ्दो आकर्षण, कसरी जाने ?

मकवानपुर । पछिल्लो समय टिकटक तथा अन्य सामाजिक सञ्जालमा ‘भाइरल’ भैरहेको लटरम्मेश्वर महादेव स्थान जिल्लाको नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दैछ ।

मकवानपुरको बकैया गाउँपालिका- १२ तथा भीमफेदी गाउँपालिका- ८ को सिमानामा रहेको डब्लु डाँडाको थुम्कोमा रहेको छ लटरम्मेश्वर महादेव मन्दिर । आजभोलि दैनिक सयौं व्यक्तिहरु सुन्दर दृश्यावलोकन तथा महादेवको दर्शन गर्न जाने गरेका छन् ।

काठमाडौं उपत्यका तथा मकवानपुरको हेटौंडासहित वीरगञ्ज, बारा, रौतहटलगायतका क्षेत्रबाट सयौंको संख्याका आन्तरिक पर्यटक उक्त स्थल पुग्ने गरेका हुन् ।

कसरी भयो भाइरल ?

लटरम्मेश्वर महादेव मन्दिर बकैयाको ठिंगन तथा भीमफेदीको इपाका वासिन्दाको लागि नयाँ तथा नौलो नाम हैन । तत्कालीन इपा र ठिंगन गाविसका स्थानीय वर्षमा एक पटक भए पनि मन्दिर पुग्दै आएका छन् । करिब २ घण्टा ४५ मिनेटको ठाडो उकालो पैदल यात्रापछि पुगिन्छ मन्दिर ।

केही सामजिक सञ्जालका पेज तथा मकवानपुरका स्थानीय अनलाइन मिडियाले तस्बिर र भिडिओसहितको खबर प्रकाशन गरेपछि उक्त स्थलमा देशभरका मानिसहरुको आँखा पुग्यो । मन्दिर पुगेका केही व्यक्तिहरुले त्यहाँको सुन्दर दृश्य टिकटक, युट्य्ब तथा फेसबुकमा अपलोड गरेपछि लटरम्मेश्वर महादेव मन्दिर एकाएक भाइरल बन्न पुग्यो ।

कसरी पुग्न सकिन्छ ?

काठमाडौं उपत्यका तथा हेटौंडाबाट (कान्ति लोकपथ) हुँदै यात्रा गर्दा बीचमा अर्थात ४४ किलोमिटरमा बकैया १२ को ठिंगन भन्ने स्थान आइपुग्छ । ठिंगनको खोरभञ्याङबाट करिब ३ किलोमिटर उत्तरतर्फको कच्ची सडकको यात्रापछि रातोमाटेमा पुगिन्छ । पैदल यात्रा आरम्भ गर्ने यहींबाट करिब २ घण्टा ४५ मिनेट उकालो बाटो हिँडेपछि लटरम्मेश्वर महादेव मन्दिर पुगिन्छ ।

भिरालो तथा जोखिमपूर्ण यात्राबीच त्यहाँबाट देखिने बागमती नदीको दृश्य, लालीगुँरास फुल्ने डाँडा, मिनेटैपिच्छे परिवर्तन भैरहने मौसमले हिँडाइको थकानलाई समेत भुलाइदिन्छ ।

यहाँको प्रमुख विशेषता भनेकै चिसो मौसम अर्थात प्रत्येक मिनेटमा परिवर्तन हुने मौसमको अनुभूति हो । यहाँ एकैछिनमा बादलले ढाक्छ, भने अर्को क्षणम बादल खुलेर सफा आकाश देख्न सकिन्छ । पैदल यात्राको क्रममा बाटोमा झरेका वास्नादार फूलले आनन्दित र सुवासित बनाउँछ ।
बाटोमा फलेका एंैसेलु, अंगेरी खाँदै लटरम्मेश्वरमा पुग्न सकिन्छ । डब्लु डाँडाको पहिलो थुम्कोबाट बीचको थुम्को अर्थात महादेशस्थल पुग्ने क्षण सबैभन्दा धेरै आकर्षक देखिन्छ । भाइरल भएको सिँढी रहेको उक्त स्थलको मौसम सबैभन्दा मनमोहक छ ।

नयाँ ट्रेकिङ रुटको उच्च सम्भावना

एक दिनमै ‘एडभेन्चर ट्रेकिङ’को मज्जा लिनेहरुको लागि लटरम्मेश्वर देशकै महत्वपूर्ण स्थल हुनसक्छ । हिउँदको मौसममा हिउँसमेत पर्ने उक्त स्थल काठमाडौंबाट पनि नजिक छ । त्यसैले बागमती प्रदेशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्छ । अझ लटरम्मेश्वर नजिकै रहेको रुद्रास्थली क्षेत्र तथा ललितपुरको कालेश्वर महादेव मन्दिरलाई जोडेर ‘ट्राभल सर्कल’ बनाउन सकिन्छ ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले यो वर्षबाट लटरम्मेश्वरलाई प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन डीपीआर निर्माण गरेर काम सुरु गरिने नेपालप्रेससँग बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर