सिसडोलका स्थानीयमाथि बल प्रयोग गरेकोबारे बालेन्द्रको जवाफ : महानगरको अधिकार क्षेत्र बुझौँ (भिडिओ) – Nepal Press

सिसडोलका स्थानीयमाथि बल प्रयोग गरेकोबारे बालेन्द्रको जवाफ : महानगरको अधिकार क्षेत्र बुझौँ (भिडिओ)

काठमाडौं । काठमाडौंको फोहोर थुपार्ने स्थल नुवाकोटको सिसडोलमा केही दिनअघि प्रहरी र स्थानीयबीच झडप भयो । उक्त घटनालाई लिएर कतिपयले महानगरका मेयर बालेन्द्र साहको आलोचनासमेत गरेका थिए ।

साहले सिसडोलवासीको समस्यामा सहानुभूति दर्साउँदै उनीहरूमाथि कुनै बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएकोमा त्यसको उल्लंघन गरेको आरोप लगाइएको छ ।

आज बसेको काठमाडौं महानगरको नगर कार्यपालिका बैठकमा एक वडाध्यक्षले यो विषय उप्काएका छन् । उनले सिसडोलबासीविरुद्ध बल प्रयोग भएको सन्दर्भमा मेयर साहसँग प्रष्टीकरण मागेका थिए ।

अस्ति सिसडोलमा फोहोर फाल्ने क्रममा शक्ति प्रयोग भएको देखियो । कहाँबाट भएको हो मेयर गृहमन्त्री वा सहरी विकास मन्त्रालयको निर्देशनमा भएको हो जानकारी दिइयोस् ।’

यसमा मेयर साहले सिधा जवाफ दिएनन् । उनले घुमाउरो ढंगले बल प्रयोगमा महानगरको हात नभएको बताए ।

साहको जवाफ यस्तो थियो

पहिले काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्र के–के पर्छ भन्ने बुझ्नुपर्छ । महानगरसँग सुरक्षाका रूपमा नगर प्रहरी मात्रै छ । जनपद प्रहरी, नेपाली सेना, एपीएफलगायत गृह मन्त्रालय मातहतमा हुन्छन् । यति भनिसकेपछि अरू केही भन्न पर्छ जस्तो लाग्दैन ।

वडाध्यक्षले महानगरले नै गृहलाई प्रहरी परिचालनका लागि पत्र पठाएको हो कि भन्ने थप जिज्ञासा राखे ।

त्यसलाई पनि साहले इन्कार गरे ।

त्यसरी हामीले पत्र पठाउन पाइँदैन । गृह मन्त्रालयलाई महानगरले कसरी पत्र पठाउन मिल्छ ? गृह मन्त्रालय छुट्टै निकाय हो । ऊसँगै छ सशस्त्र, जनपद प्रहरी र नेपाली सेना । दोस्रो कुरा, महानगरपालिकाको मात्रै फोहोर गएको होइन सिसडोलमा । त्यहाँ २२÷२३ वटा नगरपालिकाको फोहोर जान्छ । त्यही भएर यस्तो प्रश्न महानगरपालिकालाई सोधिनुपर्छ जस्तो लाग्छ ।

मेयर साहले जवाफ दिँदा एउटा तथ्यगत त्रुटि गरेका थिए । उनले नेपाली सेना गृह मन्त्रालय मातहत पर्ने बताए । यद्यपि, सेना रक्षा मन्त्रालय मातहत हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर