२५ मिनेटको पत्रकार सम्मेलन सकेर रिह्याबमै फर्किए जी-बब – Nepal Press

२५ मिनेटको पत्रकार सम्मेलन सकेर रिह्याबमै फर्किए जी-बब

काठमाडौं । चर्चित र्यापर सुदिप भण्डारी उर्फ जी-बबले आज पहिलो पटक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो व्यक्तिगत र पारिवारिक विषयमा प्रस्टीकरण दिए ।

पत्रकार सम्मेलनमा जी-बबको अभिव्यक्तिको मुख्य सार आफू ठूलो भइसकेकाले पारिवारिक बन्देज स्वीकार नगर्ने भन्ने थियो ।

जीबबले आफूलाई परिवारले पटक–पटक रिह्याब सेन्टरमा बस्न दबाब दिएको गुनासो गरे । र्याप ब्याटल आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) लाई समेत बुबाआमाले विभिन्न आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।

‘एएनटीएफले मलाई कब्जा गरेको भन्ने कुराहरू उहाँहरूले गर्नुभएको छ, त्यो गलत हो,’ जी-बबले भने ।

तस्बिर : उमेश कार्की/नेपाल प्रेस
तस्बिर : उमेश कार्की/नेपाल प्रेस

उनले आफू ड्रग्स एडिक्ट भएको स्वीकार गरे । सुरुमा आफ्नै इच्छाले रिह्याब सेन्टर गएको उनले बताए ।

‘म नखाने होइन डेन्जर खाने मान्छे हो । स्वास्थ्यमा समस्या आएको फिल भएपछि आफैँ रिह्याबमा पुगेर फर्म भरेको थिएँ,’ उनले भने ।

पत्रकार सम्मेलनमा समर्पण समाज नामक रिह्याब सेन्टरका सञ्चालक टासी लामा पनि उपस्थित थिए । लामाले जीबबलाई अझै उपचार आवश्यक भएको बताए ।

तस्बिर : उमेश कार्की/नेपाल प्रेस

जीबबको बारेमा उनको भनाइ यस्तो थियो :

‘बिरामी भएर स्वयम् उ आएर मलाई ट्रिटमेन्ट चाहियो भनेपछि ठिकै छ, बस न त भाइ भनेको थिएँ । पछि आउँछु भनेर गएको थियो । त्यस बेला फर्म भरिदिएको हो । यो बीचमा के कति खायो थाहा भएन, हिजो फेरि एक्कासि फोन गरेर, दाइ म त रिह्याब बस्नुपर्ने भयो भन्यो । मैले ठिकै छ, आऊ न त भाइ भनेँ । हिजो बस्यो भन्दैमा आज रिकभर भयो भन्न मिल्दैन । कुलतमा फसिसकेपछि समय चाहिन्छ । यो एउटा प्रोसेस हो । उ मेन्टल्ली प्रिपेयर छैन । डिस्टर्व छ । उसलाई केही समय दिनुस् । अहिले पनि मेन्टल्ली विक नै छ ।’

२५ मिनेटका लागि रिह्याबबाट ल्याइएका जीबबलाई पत्रकार सम्मेलन सकिएपछि समर्पण समाजका व्यक्तिहरूले लिएर गए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर