बौरिदै पर्यटन क्षेत्र : पाँच महिनामा दुई लाख पर्यटक भित्रिए – Nepal Press

बौरिदै पर्यटन क्षेत्र : पाँच महिनामा दुई लाख पर्यटक भित्रिए

काठमाडौं । पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिब दुई लाख पर्यटक भित्रिएका छन् ।

गृहमन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् ।

पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् ।

विश्वमा कोरोना महामारी सुरू भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरुमा विस्तारै बढ्न थालेको छ । कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल अझ बढेको जानकारहरू बताउँछन् ।

कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए । अघिल्लो एक वर्षमा आएकाभन्दा बढी पर्यटक यस वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना पर्यटक आएका थिए ।

विभागका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरी १९ हजार ९६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर