आईसीसी विश्वकप लिग-२: नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी – Nepal Press

आईसीसी विश्वकप लिग-२: नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेसीय शृङ्खलामा नेपाल र अमेरिकाको खेल रोमाञ्चक रूपमा बराबरीमा टुङ्गिएको छ ।

पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले तीन ब्याटरको मद्दतमा दुई सय ७४ रनको योगफल तयार पारेको थियो ।

नेपालले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रननै बनायो ।
अमेरिकालाई जितका लागि अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो ।

बलिङका लागि नेपालबाट आदिल अन्सरि आएका थिए । अन्तिम ओभरको चार बलमै अमेरिकाले ५ रन बनाउँदै खेल बराबर गरेको थियो ।
तर, आदिलले त्यसपछिको दुई बलमा दुई विकेट लिएपछि नेपालले रोमाञ्चक रुपमा खेल बराबर गर्न सफल भएको थियो ।

अमेरिकाका ओपनर स्टिभन टेलरले सतकीय इनिङ खेले । उनले एक सय २३ बलमा ११ चौका र तीन छक्कासहित एक सय १४ रन बनाए । यसबाहेक, कप्तान मोनांक पटेलले ८५, आरोन जोनसले २६ र राहुल जारिवालाले १० रन जोडे ।

नेपालका आदिलले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा आएको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल तयार पारेको थियो ।

नेपालका तीन ब्याटर अर्धसतक बनाएका थिए । ओपनर आसिफ शेख ६१ रनमा पभेलियन फर्किदा, देव खनालले ५४ र रोहित पौडेलले ६२ रन जोडेको थिए । यसबाहेक, टिमको खातामा आदिलले ३६ र कुशल भुर्तेलले १९ रन थपेका थिए ।

अमेरिकाका रुस्टी थेरोनले सर्वाधिक चार विकेट लिए । यस्तै, अलि खान, र सौरभ नेत्रवाल्करले समान दुई विकेट लिँदा रिसार्ग पटेल र यासिर मोहम्मदले एक–एक विकेट लिए ।

बराबरीसँग नेपालले लिग २ का १४ खेलमा १३ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, चौथो स्थानको अमेरिकाले भने २२ खेलमा २१ अंक जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर