भैरहवा सेजमा थप २३ उद्योगलाई अनुमति, उद्योगीको उत्साह बढ्यो कि बाध्यता ? – Nepal Press

भैरहवा सेजमा थप २३ उद्योगलाई अनुमति, उद्योगीको उत्साह बढ्यो कि बाध्यता ?

रुपन्देही । लामो समय व्यवस्थापनसँग असमझदारीका कारण अन्यौलमा रहेको रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजमा उद्योग सञ्चालनका लागि २३ उद्योगले अनुमति पाएसँगै उद्योगीहरुमा उत्साह छाएको छ ।

मुलककै पहिलो निर्यातमुखी परियोजनाको रुपमा रहेको सेजमा हाल ७ उद्योग सञ्चालनमा छन् २३ उद्योगले थप अनुमति पाएपछि कुल ३० वटा उद्योग हुनेछन् ।

सेज प्राधिकरणले ६८ वटा प्लटमध्ये खाली प्लटका लागि उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पेस गर्न व्यवसायीलाई सूचना जारी गरेको थियो । १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा मागभन्दा धेरै ५५ वटा प्लटका लागि आवेदन आएको थियो । बाँकी रहेको ४६ वटा प्लटका लागि २३ वटा उद्योगले अनुमति लिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिएका छन् ।

सम्झौता गरेका २३ वटै उद्योग सञ्चालनका लागि सेज प्राधिकरणले अनुमति पत्र जारी गरेको र एक वर्षभित्र ती उद्योगले संचालन गरिसक्नुपर्ने कार्यविधिमै तोकिएको उनले बताए ।

उद्योग दर्ता प्रक्रियामा केही समयमै प्राधिकरणसँग सम्झौता हुने र सेजमा उद्योग स्थापना गर्न व्यवसायीले चासो देखाएपछि उत्साह थपिएको र यसले पूर्णता पाउने भएको उनको भनाइ छ ।

अहिले थपिने उद्योगहरुमा प्रेसर कुकर, राइस कुकर, भाडावर्तन, आल्मुनियमका डिस्पोजल प्याकेट, ट्वाइलेट पेपर, टिस्युपेपर, जडीबुटी, ढुंगा कुदेर मूर्ति बनाउने, कवाडलाई प्रशोधन गरेर धातु बनाउने, कन्डक्शन चुल्हो, सिमेन्टको बोर्ड बनाउने, छालाको सामान उत्पादन, गार्मेन्ट, फर्निचरलगायतका बस्तु उत्पादन गर्ने छन् ।

अहिले सेजमा सात उद्योग सञ्चालनमा रहेका छन्, आवेदन आएका ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २ हजार ५ सय ३४ जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका छन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा अब वार्षिक १८ अर्ब ५ करोडको वार्षिक उत्पादन हुने अनुमान छ ।

वार्षिक निर्यात १० अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको प्रस्तावमा व्यवसायीले पेस गरेका छन् । सेज परिसरमा हाल सञ्चालित २२ वटा प्लटमा जयबुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्यांक, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्श, तिरुपती मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरी सात वटा उद्योग सञ्चालनमा छन् । यसअघि सेजमा उद्योगका लागि छुट्याइएका कुल ६८ वटा जमिनका प्लटमध्ये ४६ वटा खाली थिए ।

जसमध्ये २२ वटा प्लटमा ९ जना व्यवसायीले उद्योग स्थापना गर्ने भनेर सेज प्राधिकरणसँग सम्झौता गरे तर उद्योग स्थापना गर्न चाँसो नदेखाएर लामो समयदेखि जमिन कब्जा गरेर राखेका थिए । सेज प्राधिकरणले उद्योग स्थापना नगरेर राखेका सबै प्लटका सम्झौता खारेज गरी अन्य व्यवसायीलाई उद्योग सञ्चालनार्थ प्रस्ताव पेसको माग गरेको थियो ।

व्यवसायीले उद्योग संचालनको पहिलो दुई बर्ष उत्पादित बस्तुको बजारको खोजी, उद्योगमा उपकरण र कर्मचारीको सेटिङ र परीक्षण उत्पादनमा समय लाग्ने भएकाले निकासी छुटको माग गरेका छन् । प्राधिकरणको नियम अनुसार उद्योग संचालनको पहिलो वर्ष निकासी गर्न नपर्ने र दोस्रो वर्ष उत्पादनको ६० प्रतिशत गर्नु भन्ने प्रावधान छ ।

व्यवसायीले उठाएको यो निकासीको विषय अलि पेचिलो भएकाले समस्या समाधानका लागि सेज प्राधिकरणको बोर्ड बैठकले उपसमिति गठन गरेको भट्टले बताए । भैरहवा सेजमा बिद्यमान विद्युत समस्या समाधानका लागि यसै वर्ष ३३ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको उनले बताए ।

रुपन्देहीको रोहिणी गाउँपलिका–१ वगहामा अवस्थित निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र (सेज) भित्र वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका बस्तु, तयारी पोशाक, गलैचा तथा ऊनी समान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरी १७ किसिमका उद्योगहरु सेजमा रहने व्यवस्था छ ।

५२ बिगाहामा फैलिएको सेजले विशेषगरी नेपालको जीडीपीमा योगदान गर्ने, व्यापार घाटालाई कम गर्न, स्थानीय र स्वदेशमा रोजगारी प्रदान गर्न, आयातलाई घटाउँदै निर्यात गर्न विशेष आर्थिक क्षेत्र (सेज)को अवधारण आएकोले देशको आर्थिक समृद्धिमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने छ ।

स्थापना भएको दुई दशकको अवधिमा पाँच–सात वटामात्र उद्योगमा सीमित रहेको सेजमा उद्योग स्थापनाको क्रमले पूर्णता पाउँदै गएपछि यहाँका उद्योगी व्यवसायी खुसी भएका छन् । विगतमा सेजमा उद्योगका लागि छुट्याइएका अधिकांश जमिनका प्लट खाली थिए ।

सेजमा उद्योगी–व्यवसायीको आकर्षण भन्दा नैराश्यताको क्रम बढ्दो थियो । उद्योग स्थापनाका लागि सम्झौता गरेका झण्डै एक दर्जन उद्योग सेज संचालनमा ढिलाइ भएको भन्दै सम्झौता रद्ध गरेका थिए ।

यसअघि कतिपय व्यवसायीले उद्योग संचालन गर्न भनेर जमिनको प्लट सम्झौता गर्ने तर तोकिएको अवधिसम्म पनि उद्योग स्थापनाको काम अघि नबढाएर ‘वेट एण्ड सी’ को अवस्थामा बस्दा सेजले गति लिन सकेको थिएन ।

अहिले भने भैरहवा सेजमा जमिनका कुनै पनि प्लट खाली छैनन् । वर्षौंदेखि खाली रहेका सवै प्लटमा व्यवसायीले सम्झौता गरिसकेका छन् ।
‘भैरहवा सेजलाई केही समयभित्रै पूर्ण क्षमतामा संचालन हुने वातावरण तयार पारिएको छ’, सेजका निर्देशक भट्टले भने, ‘एक–डेढ वर्ष भित्रमा भैरहवा सेज उद्योगले भरिने छ र पूर्णता पाउने छ ।’

सेज प्राधिकरणले उद्योग स्थापना नगरेर बल्झाएर राखेका सबै प्लटका सम्झौता खारेज गरी अन्य व्यवसायीलाई उद्योग संचालनार्थ प्रस्ताव पेसको माग गरेको हो ।

यसभन्दा अघि भैरहवा सेजमा जय बुद्ध मेटल क्राफ्ट, पंचकन्या स्टिल ट्यांक, शक्ति मिनरल्स, भी स्टार ग्लोबल प्रालि, एस पोलिमर्श, तिरुपती मेटल क्राफ्ट र ब्रिलेन्ट लाइटिङ गरी सात वटा उद्योग संचालनमा छन् । यी उद्योगले २२ वटा प्लट उपयोगमा ल्याएका छन् । खाली प्लटमा बर्षाैंदेखि उद्योग स्थापना नहुँदा सेज झाडी र जंगलमा परिणत भएको थियो ।

पन्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले सेजमा रहेका उद्योगले आफ्नो जिम्मेवारी स्पष्ट बुझेको भएपनि सेजभित्र उपलब्ध हुनुपर्ने सबै सुविधा नदिइएकाले बाहिरभन्दा यहाँ रहेका उद्योगलाई मर्का परेकाले समयमै सम्बोधन गरे निर्यातमा सहज हुने बताए ।

‘निर्यात नभए सेजलाई भन्दा उद्योगीलाई घाटा हो नि, यति धेरै लगानी गरेपछि संचालन नभए त समस्या आफैलाई पर्ने हो त,’ उनले भने ।
२०७१ मंसिर २ मा तत्कालीन उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले निकै तामझामसाथ भैरहवा विशेष आर्थिक क्षेत्र–सेज उद्घाटन गरेका थिए ।

पूर्वाधार निर्माण सुरु भएको १२ वर्षमा बल्ल उद्घाटन भएको विशेष आर्थिक क्षेत्र छिट्टै सञ्चालन हुने आशाले उद्योगी–व्यवसायी निकै उत्साहित भए । उद्योगी–व्यवसायीमा देखिएको यो उत्साह लामो समय टिक्न नसकेका कारण धेरैलाई चिन्तित बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *