भाउजूमाथि बलात्कार, घटना बाहिरिने डरले जलाएर हत्या – Nepal Press

भाउजूमाथि बलात्कार, घटना बाहिरिने डरले जलाएर हत्या

कैलाली । बुधवार बिहान करिब २ बजे दार्चुला शैल्यशिखर नगरपालिका १ बारिलका ४२ वर्षीय भोजराज खडायतले नातामा भाउजू पर्ने ४५ वर्षीय अनिभा खडायतलाई घरमै लिन पुग्छन् ।

त्यो बेला घरमा अनिभाका दुई छोरीहरू पनि हुन्छन् । भोजराजसँग अनिभा घरबाट करिब ५० मिटर पर पर्ने उखुबारीमा पुग्छिन् । यता घरमा अनिभाकि जेठी छोरीले आमा घरमा नभएको पत्तो पाउँछिन् । उनले पटक पटक आमालाई फोन गर्दा फोन लाग्दैन । केही घण्टा पछि भोजराज त्यही घर हुँदै पुग्छन् ।

‘आमा खै ?’ छोरीले भोजराजलाई सोध्छिन् । त्यो बेला करिब ४ बजेको हुन्छ । भोजराजले त्यसको जवाफ दिँदैनन् । बरु छोरीको हातमा मोबाइल देखेपछि उनी थप त्रसित हुन्छन् । मोबाइलबाट सूचना बाहिर जाने डर हुन्छ भोजराजलाई । मोबाइल तान्न तम्सिन्छन् उनी । किशोरी भोजराजबाट जोगिएर कराउँदै भाग्छिन् । उता भोजराज पनि घटना त्यहाँबाट सम्पर्क विहीन हुन्छन् ।

यता अनिभाकि जेठी छोरी रुँदै कराउँदै गुहार मागेपछि गाउँलेहरू जुट्छन् । त्यो बेला घर नजिकैको उखुबारीमा आगो दन्किरहेको हुन्छ । त्यो आगोमा अनिभा जलिरहेकी हुन्छन् ।

‘खरको थुप्रोमा अनिभालाई जलाइएको थियो’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने शव देखेर अनिभाको हत्या भएको अड्कल काट्न स्थानीयलाई समय लाग्दैन ।’

आगोले अनिभा पूर्ण रूपमा जलेकी हुन्छिन् । स्थानीय आगो निभाउनु भन्दा पहिले प्रहरीलाई खबर गर्न उचित ठान्छन् । मृतकको भतिजा नाता पर्ने व्यक्तिले प्रहरीलाई खबर गरेका हुन्छन् ।

प्रहरी चौकी बलाच सम्म घटनाको सूचना पुग्दा करिब ६ बजिसकेको हुन्छ । ‘शरीरको धेरै अङ्ग जलेको थियो । बायाँ हात खुट्टा वाकी थियो । दायाँ हातको टुप्पाहरू जलेका थिए, खुट्टा जलेको थियो’ प्रहरी नायव उपरीक्षक विष्टले भने ‘घटना स्थल दर्दनाक देखिएको थियो ।’

मृतकका आफन्तले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरी पाउनुभन्दा अघि नै घटनाबारे अनुसन्धान गरिरहेको थियो ।

घटनास्थलमा एक जना पुरुषको कट्टु फेला परेपछि प्रहरीले बलात्कार पछि हत्या गरिएको हुन सक्ने अनुमान गरिसकेको थियो । घटनास्थलमा रगत लागेको ढुङ्गो फेला परेको थियो । त्यसबाट प्रहरीले अनिभाको टाउकोमा ढुङ्गा प्रहार गरेको पुष्टि गर्छ । घटना स्थलमा चप्पल पनि फेला पारेपछि प्रहरीलाई दोषी पक्राउ गर्न सहज भएको थियो ।

मृतकको छोरीले दिएको बयानका आधारमा घटनामा भोजराज खडायत संलग्न रहेको ठम्याउन प्रहरीलाई समय लाग्दैन । तर, उनलाई पक्राउ गर्न भने प्रहरीलाई समस्या भइरहेको हुन्छ । उनी घटना पछि बेपत्ता भइसकेका हुन्छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले पनि दोषीलाई पक्राउ गर्न प्रहरीलाई ताकेता गरिरहेका हुन्छन् । जिल्ला प्रहरी कार्यालय दार्चुला, जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय गोकुलेश्वर र बैतडीको प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ परेको खडायतसँग मृतकले कान र नाकमा लगाएको सुनको बाली र नथिया फेला पारेपछि प्रहरीलाई दोषी किटान गर्न अझै सहज भएको हुन्छ । पक्राउ परेका व्यक्तिसँग प्रहरीले केरकार गर्दा पनि उनले घटनाबारे स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

‘मृतकलाई घरबाट बोलाइ बारीमा लगेको, करणी गर्ने विषयमा विवाद हुँदा ढुङ्गाले हानेको र घटना बाहिर आउने डरले आगो लगाएर हत्या गरेको खुल्न आएको छ’ डिएसपी विष्टले अभियुक्त सार्वजनिक गर्दै आज पत्रकारहरूलाई जानकारी गराए ।

अनिभाका श्रीमान् ७ वर्ष पहिले नै बितेका थिए । उनका तीन छोरी र एक छोरा छन् । जेठी छोरीको विवाह भइसकेको छ । छोरा कामका लागि बेंग्लोरमा छन् ।
१२ बर्सिया कान्छी छोरी भने आमाको हत्या हुँदा घरमै निदाइरहेकी थिइन् । उनले घटनाबारे पछि मात्रै थाहा पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *