ओमानविरुद्ध चुकेको नेपाल : धमला र भण्डारीको सुस्त ब्याटिङ बन्यो गलपासो – Nepal Press

ओमानविरुद्ध चुकेको नेपाल : धमला र भण्डारीको सुस्त ब्याटिङ बन्यो गलपासो

काठमाडौं । ओमानले दिएको २१२ रनको सामान्य लक्ष्य भेट्टाउन नसकेपछि नेपाली क्रिकेट टिमले अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा खराब सुरूवात गरेको छ । म्याचमा बलरहरुले आफ्नो जिम्मेवारी निभाए पनि ब्याटिङले निराश बनायो ।

टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले २११ मात्रै जोड्न सकेको थियो । त्यसो त टिम योभन्दा पनि निकै दयनीय स्कोरमा समेटिन सक्थ्यो यदि मध्यक्रममा कप्तान जिसान मक्सुदले प्रेरक इनिङ नखेलेको भए । ८६ रनमै पाँच विकेट गुमाएको स्थितिबाट उनले आफ्नो टिमलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । मक्सुद १०४ रनमा अविजित रहे ।

दोस्रो इनिङमा नेपालले खराब सुरुवात गर्‍यो । ओपनर सुभाष खकुरेल मात्र ३ रन जोडेर आउट भए । अर्का ओपनर सुनील धमलाले सकसपूर्ण इनिङ खेल्दै ३८ बलमा १२ रन बनाए ।

नियमित ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख चोटका कारण एकैचोटि टिमबाहिर रहेपछि नेपालले ओपनिङ कम्बिनेसनमा नयाँ परिक्षण गर्नुपर्ने वाध्यता परेको थियो । राष्ट्रिय टिममा पर्न निरन्तर संघर्ष गरिरहेका धमला र राष्ट्रिय टिमबाट स्थान गुमाएका खकुरेलका लागि आफूलाई प्रमाणित गर्ने अवसर थियो यो । तर, उनीहरू दुवै अवसरको सदुपयोग गर्न असफल भए ।

नेपालको ब्याटिङ आशा मध्यक्रममा टिकेको थियो । मध्येक्रमका खम्बा रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको ब्याट चलेको अवस्थामा नेपालले यति लक्ष्य सहजै पार गर्न सक्थ्यो । उनीहरु दुवैले स्टार्ट त लिए तर कन्भर्ट गर्न सकेनन् ।

अनुभवी ब्याट्सम्यान आरिफ शेखले नेपाललाई लक्ष्यसम्म पुर्याउने भरमग्दुर प्रयास गरे । तर, उनलाई अर्को इन्डबाट साथ भएन ।

विकेटकिपर विनोद भण्डारी लामो समय क्रिज ओगटेर बसे । तर रन बनाउन सकेनन् । उनको सुस्त ब्याटिङले नेपालमाथि रनरेटको दबाब बढ्यो ।

आरिफले अन्तिम ओभरसम्म पनि नेपालको आशा कायम राखेका थिए । अन्तिम ओभरमा नेपाललाई १४ चाहिएको थियो, जुन असम्भव होइन । क्रिजमा आरिफ नै थिए । उनलाई ठूला सट खेल्नैपर्ने वाध्यता थियो । तर, ओमानका सर्वोत्कृष्ट बलर बिलाल खानले आरिफलाई कुनै मौका दिएनन् । उनले लगातार तीनवटा डट फाल्दै चौंथो बलमा आरिफको विकेटसहित खेल ओमानको पोल्टामा पारे ।

करणको कीर्तिमानी बलिङ

ओमानविरुद्ध नेपालका बलरहरुले भने उत्कृष्ट प्रदर्शन गरे । कुनै पनि बलरले विपक्षी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । कप्तान सन्दिप लामिछानेले सात जना बलर प्रयोग गर्दा पार्टटाइमर देव खनालबाहेक सबैले प्रतिओभरमा ५ रनभन्दा कम खर्चिए ।

नेपालका बलरहरूमध्ये करण केसी सबैभन्दा चम्किए । उनले यादगार बलिङ गर्दै पाँच विकेट लिए । करणले सुरुमै ओमानका ओपनरहरुलाई पेभेलियन पठाएपछि खेलमा नेपाल हावी भएको थियो । तर, कप्तान मक्सुदको विकेट लिन नसक्नु नै नेपालको दुर्भाग्य भयो । उनले एक्लो बलबुतामा ओमानलाई दुई सयभन्दा माथिको स्कोरमा पुर्‍याए ।

भण्डारी र धमलाको आलोचित ब्याटिङ

नेपालका आशा गरिएका युवा ब्याट्सम्यान हुन् सुनिल धमला । घरेलु क्रिकेटमा राम्रै चल्ने गरेका धमलाले अन्तर्राष्ट्रिय स्तरमा भने छाप छोड्ने ब्याटिङ गर्न सकेका छैनन् । हिजो पाएको अवसर पनि उनले खेर फाले ।

नेपाली टिमको ओपनरका आएका सुनिलले सकारात्मक ब्याटिङ गर्न सकेनन् । उनी पूरै रक्षात्मक मुडमा थिए । उनको सुस्त ब्याटिङले तेस्रो नम्बरमा आएका युवा ब्याट्सम्यान देव खनाललाई दवाव परेको थियो । धमलाले ३८ बलमा १२ रन मात्रै बटुल्न सके जसमा कुनै चौका वा छक्का थिएन ।

धमलाको जस्तै निराश बनाए विनोद भण्डारीले । नेपालका अनुभवि ब्याट्सम्यानमा पर्ने भण्डारी विष्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्छन् । तर, ओमानविरुद्धको म्याचमा उनले बिर्सिनलायक ब्याटिङ गरे । ४६ बलको सामना गर्दा उनको ब्याटबाट पनि कुनै छक्का–चौका निस्केन । केबल १४ रन बनाएर पेभिलियन फर्किए । हिजोको म्याचपछि फेरि विनोदलाई टिममा समावेश गर्नुको औचित्यमा प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय म्याचमा उनको ब्याट नचलेको धेरै भइसक्यो ।

ओमानविरुद्धको हारमा सबैभन्दा धेरै अपजस भण्डारी र धमलाले नै पाएका छन् । उनीहरूले फेरि अर्को म्याचमा मौका पाउँछन् वा पाउँदैनन् भन्न सकिन्न । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख फिट हुनेवित्तिकै उनीहरू बहिर्गमन पर्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर