गाडी आयात प्रतिबन्ध फुकुवा गर्न गभर्नरसँग अटोमोबाइल व्यवसायीहरुकाे माग – Nepal Press

गाडी आयात प्रतिबन्ध फुकुवा गर्न गभर्नरसँग अटोमोबाइल व्यवसायीहरुकाे माग

काठमाडौं । अटोमोबाइल्स एसाेसियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर गाडी आयात खुला गर्न माग गरेका छन् ।

नाडा प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीसँग आज गरेको छलफलमा अध्यक्ष थापाले उक्त माग गरेका हुन् ।

‘वर्तमान विदेशी मुद्रा सञ्चितीमा सुधार ल्याउन भन्दै आउँदो आसार मसान्तसम्म निजी प्रयोजनका कार, जीप र भ्यानको आयातमा प्रतिबन्ध लगाएकोमा सवारीसाधनहरुको आयातले विदेशी मुद्रा सञ्चिती र शोधनान्तर स्थितिमा खासै असर पार्ने देखिएन’, उनले भने,’अब आयात प्रतिबन्ध फुकुवा गरौं ।’

अध्यक्ष थापाले नाडा अटो एक्स्पो २०२२ आउँदो भाद्र महिनामा भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरेको तर गाडी आयात प्रतिबन्धले प्रदर्शनी गर्न नसकिने अवस्था उत्पन्न भएको बताए ।

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारीसाधन आयातका लागि ऋण खोल्दा न्यूनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पुग्दा असहज भएको बताए । उपभोक्ताहरुलाई समेत असर पर्ने भएकाले पूर्व व्यवस्थाअनुसारको न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न उनले आग्रह गरेका छन् ।

छलफलमा गर्भनर अधिकारीले नाडाबाट प्राप्त सुझावहरुलाई मनन गरिरहेको र त्यसलाई आउँदो माैद्रिक नीतिमार्फत यथाशक्य सम्बोधन गरिने बताए । गभर्नरले भने, ‘८/९ महिनामा नै २.५ अर्ब डलर सञ्चिती घट्दै गएको छ । त्यसको परिपूर्ति कसरी गर्ने, त्यसलाई व्यवसायीहरुले बुझिदिन आवश्यक छ । अटोमोबाइल व्यवसाय बन्द हुँदा हामी खुसी हुन सक्दैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर