कांग्रेस नामका अनेक पार्टी : ‘४ तारेदेखि ६ तारे’ को कस्ता ? – Nepal Press

कांग्रेस नामका अनेक पार्टी : ‘४ तारेदेखि ६ तारे’ को कस्ता ?

काठमाडौं । यसपटक स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ४ दिन गृहजिल्ला डडेल्धुरा बसे । जिल्लाभरको परिणाममा ७ मध्ये ५ पालिका जितेर कांग्रेस पहिलो पार्टी पनि बन्यो तर देउवाकै वडामा कांग्रेस पराजित भयो । देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस हार्दा जित्ने पनि कांग्रेस नै थियो तर नेपाली कांग्रेस नभएर नेपाली कांग्रेस (वीपी) ।

नेपालमा कम्युनिष्ट पार्टीहरूको पहिचान ‘फुटपरस्त’ रहेको छ । ठूला देखि स-साना कम्युनिष्ट घटकहरू पनि अस्तित्वमा रहेकोले कम्युनिष्ट पार्टी भन्नेवित्तिकै दर्जनौ पार्टीहरूको नाम स्मरणमा आउँछ । खासमा कांग्रेसको अवस्था पनि त्यस्तै हो । निर्वाचन आयोगमा अद्यावधिक भएका कांग्रेस नामधारी पार्टी ३ वटा छन् । उनीहरू सबै आफूलाई ‘डेमोक्रेट’ दाबी गर्छन् र झण्डा पनि उस्तै उस्तै छन् ।

अस्तित्वमा रहेकोमध्ये सबैभन्दा ठूलो नेपाली कांग्रेसदेखि, संगठन बनाउँदै गरेको नेपाली कांग्रेस (वीपी) हुँदै आयोगमा दर्ता भएपनि चुनाव नलडेको नेपाल समाजवादी कांग्रेससम्मको बारेमा यहाँ उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस

मुलुककै पुरानो प्रजातान्त्रिक पार्टी मध्येको एक नेपाली कांग्रेस तत्काली नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीचको एकताबाट स्थापित भएको हो । २००७ सालको क्रान्तिदेखि २०३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक जनआन्दोलनको नेतृत्व यो पार्टीले गर्‍यो । वीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराईलगायत नेताहरू संस्थापन रहेको नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालासमेत सभापति भए ।

७ दशक लामो इतिहास बोकेको कांग्रेसले पटक-पटक मुलुकको नेतृत्व गर्ने अवसर समे पाएको कांग्रेसले २०५९ सालमा विभाजनको मार खेपेको थियो । यद्यपि २०६४ सालमै एकता भएको थियो । कांग्रेसले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका एजेण्डा स्वीकार गरेपछि असन्तुष्ट केही नेताहरूले अलग्गै पार्टी स्थापना गरेपनि मानक उपस्थिति जनाउन सकेका छैनन् । चारतारे झण्डा कांग्रेसको ब्राण्डको रुपमा रहेको छ भने चुनाव चिन्ह रुख रहेको छ ।

नेपाली कांग्रेस (वीपी)

कुनैबेला नेपाली कांग्रेसमा प्रभाव राख्ने नेताहरूले स्थापना गरेको नेपाली कांग्रेस (वीपी) संगठन निर्माणकै दौरानमा छ । प्रधानमन्त्री देउवाको वडामा जितेको नेपाली कांग्रेस (वीपी) ले देशका अन्य विभिन्न स्थानीय तहहरूमा समेत उम्मेदवारी दिएको थियो । हरिबोल भट्टराई संस्थापक सभापति रहेको वीपी कांग्रेसमा अहिले सुशिलमान शेरचन सभापति रहेका छन् ।

विगतमा नेपाली कांग्रेसमा रहेका नेताहरूले नै यो पार्टीको स्थापना गरेका हुन् । संवैधानिक राजतन्त्रसहितका हिन्दू राष्ट्रका पक्षमा रहेको यो पार्टीको झण्डा नेपाली कांग्रेसको भन्दा आशिंक भिन्न छ ।

यसको झण्डामा चार तारालाई गोलाकारभित्र राखिएको छ । यस पार्टीका संस्थापक सभापति हरिबोला भट्टराईले अघिल्लो संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बा प्रतिस्पर्धा गरेका थिए । उनले जम्मा १ सय ९६ मत पाएका थिए । समानुपातिकतर्फ सो पार्टीले कुल १५ सय ४७ मत ल्याएको थियो ।

नेपाल समाजवादी कांग्रेस

निर्वाचन आयोगमा दर्ता भएपनि नेपाल समाजवादी कांग्रेसले कुनै निर्वाचनमा प्रतिस्पर्धा गरेको छैन । संवैधानिक राजसंस्थाको पक्षमा उभिएको यस पार्टीको अध्यक्ष गोविन्द निरौंला हुन् । जो कुनै बेला नेपाली कांग्रेसमै सक्रिय थिए । वीपी कोइरालाका छोरा एवं पूर्व मन्त्री प्रकाश कोइरालाको राजनीतिक सहयोगी रहेका निरौलासहित पूर्व कांग्रेस कार्यकर्ताले २०७० चैतमा यो पार्टी स्थापना गरेका हुन् ।

संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने एवं विशेषाधिकारसहितको राजसंस्था स्थापना गर्नुपर्ने कार्यदिशा बोकेको यस पार्टी संगठन निर्माणकै चरणमा छ । यसको झण्डामा ६ वटा तारा रहेका छन् । निर्वाचन आयोगमा ‘वरपीपल’ चुनाव चिन्ह माग गरेपनि नेपाल समाजवादी पार्टीले हालसम्म चुनाव चिन्ह पाएको छैन ।

नेपाल लोकतान्त्रिक जनता कांग्रेस

२०७४ सालको संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेको नेपाल लोकतान्त्रिक जनता कांग्रेस अहिले अद्यावधिक भएको छैन । जितबहादुर चौधरी केन्द्रीय अध्यक्ष रहेको यो पार्टीले २०७४ को निर्वाचनमा समानुपातिकतर्फ २३ सय ८९ मत ल्याएको थियो । यो पार्टीको झण्डा झट्ट हेर्दा भारतको झण्डासँग मिल्दोजुल्दो देखिन्छ । यसको निर्वाचन चिन्ह ‘दुई आँखा’ रहेको छ ।

२०६२/६३ को जनआन्दोलन सफल भएपछि कांग्रेसका केही असन्तुष्ट कार्यकर्ताहरूले खोलेको नेपाली कांग्रेस (राष्ट्रवादी) अहिले अस्तित्वमा छैन । वीपीपुत्र प्रकाश कोइराला पनि केही समय सो पार्टीमा सक्रिय थिए । हाल उनी राजनीतिक रूपमा सक्रिय छैनन् र आत्मकथा लेखनमा व्यस्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर