मधेसका जनप्रतिनिधिको प्रशिक्षणमा मुख्यमन्त्रीले भने- विकास गर्ने थलो स्थानीय तह नै हो – Nepal Press

मधेसका जनप्रतिनिधिको प्रशिक्षणमा मुख्यमन्त्रीले भने- विकास गर्ने थलो स्थानीय तह नै हो

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा मधेस प्रदेशका ६ जिल्लाका पालिका प्रमुख र उपप्रमुखहरुको प्रशिक्षण सुरु भएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नवनिर्वाचित पालिका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

विकास गर्ने थलो स्थानीय तह नै भएको भन्दै उनले तीनै तहबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘संघीय सरकार होस् वा प्रदेश सरकार वा स्थानीय सरकार । स्थानीय तहकै गाउँठाउँमा सबैले विकास गर्ने हो । त्यसैले तीनै तहको सरकारबीच समन्वय र सहकार्यविना विकास सम्भव छैन ।’

स्थानीय सरकारले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर प्रदेश सरकार अघि बढ्न प्रतिवद्ध रहेको मुख्यमन्त्री राउतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विश्वास दिलाए ।

विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वित्तीय बाँडफाँटमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्या झेल्नु परेको उनको भनाइ थियो ।

मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउतको अध्यक्षतामा प्रशिक्षण जारी रहेको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा धनुषा र पर्साबाहेक ६ जिल्लाका पालिका प्रमुख र उपप्रमुख सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर