टी-२० मा दक्षिण अफ्रिकाले २१२ रन पूरा गरेकै दिन एकदिवसीयमा सोही लक्ष्यमा चुक्याे नेपाल – Nepal Press

टी-२० मा दक्षिण अफ्रिकाले २१२ रन पूरा गरेकै दिन एकदिवसीयमा सोही लक्ष्यमा चुक्याे नेपाल

काठमाडौं । पछिल्ला दुई वर्षमा नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै पटक २०० भन्दा बढी रन बनाएको छ । यो फर्म्याटमा केही टोलीले २०० भन्दा बढीको लक्ष्य पनि धेरैपटक पूरा गरेका छन् । त्यसैले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० भन्दा बढीको लक्ष्य पनि सुरक्षित हुन छाडेको छ ।

विश्वकप लिग- २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बिहीबार राति ओमानले २१२ रनको लक्ष्य दिएपछि नेपालले पूरा गर्न सक्छ भन्ने अनुमान गरिएको थियो ।

तर, नेपाली टोली २ बल बाँकी छँदा सबै विकेट गुमाएर १९८ रनमा सीमित भयो । १३ रनले पराजित भाेग्नुपर्‍यो । विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतालाई कायम राख्न महत्वपूर्ण मानिएको यो प्रतियोगितामा ओमानविरुद्धको निराशाजनक ब्याटिङले नेपालको यात्रा अझ संकटतर्फ धकलिने संकेत गरेको छ ।

संयोग नै रह्यो, दक्षिण अफ्रिकाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिहीबार राति नै २१२ रनको लक्ष्य ५ बल बाँकी छँदै पूरा गरेको थियो । त्यो पनि सशक्त प्रतिद्वन्द्वी भारतसँग ।

ओमान ८६ रन जोड्दा ५ विकेट गुमाएको अवस्थामा पनि २११ रन जोड्न सफल भएको थियो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान जिसन मकसुद एक्लैले १०४ रनको पाली खेले । उनले छैटौँ विकेटका लागि खवर अलिसँग ६० रनको साझेदारी गरेका थिए । यता नेपाली टोलीले भने कुनै पनि विकेटका लागि अर्धशतकीय साझेदारी गर्न सकेनन् ।

७ विकेट जोड्दा पहिलो विकेट गुमाएको नेपालले ४० रन जोड्दा दोस्रो, ७१ रन जोड्दा तेस्रो, ७९ रन जोड्दा चौथो, १०४ रन जोड्दा पाँचौँ, १४१ रन जोड्दा छैटौँ र १५४ रन जोड्दा सातौँ विकेट गुमाएको थियो । नेपाली टोलीका सबैभन्दा अनुभवी मानिएका विनोद भण्डारीले ४६ बल खेल्दै १४ रन बनाएका थिए । सुनिल धमलाले ३८ बलमा १२ रन जोडेका थिए ।

नियमित प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेख घाइते भएपछि सुवास खकुरेल र सुनिल धमला उनीहरुको स्थानमा उत्रिएका थिए । तर, उनीहरुको प्रदर्शन निराशाजनक रह्यो । नेपाली ब्याट्सम्यानले स्ट्राइक रोटेट गरेर खेल्न सकेनन् ।

शृंखलाअन्तर्गत नेपालले अब दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ । अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर