विराटनगर विमानस्थलमा पत्रकारसँग ओलीको रोचक सवालजवाफ – Nepal Press

विराटनगर विमानस्थलमा पत्रकारसँग ओलीको रोचक सवालजवाफ

नेकपा एसलाई कटाक्षः मन्त्री फेर्न नसकेर खुइय गर्दैछन्

विराटनगर । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन एमाले अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आएका छन् । विराटनगर विमानस्थलमा ओर्लिँदै गर्दा आज बिहान स्थानीय पत्रकारसँग उनको रोचक सवालजवाफ भयो ।

ओलीलाई पत्रकारले समसामयिक राजनीतिबारे प्रश्न सोधेका थिए । ओलीले आफ्नै शैलीमा जवाफ दिए । स्थानीय चुनावको परिणाम जे आए पनि संसदीय चुनावमा एमाले नै पहिलो हुने ओलीले दावी गरे । साथै प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री पदको अफर गरेको चर्चालाई पनि अस्वीकार गरे ।

ओली र पत्रकारबीच भएको सवालजवाफको एक झलकः

पत्रकारः अहिलेको सत्तारुढ वाम गठबन्धन कायम रहला कि नरहला ?

ओलीः कसलाई वाम गठबन्धन भन्या तपाईंले ? कांग्रेस माओवादी कोकोकोलाई तपाईंले वाम गठबन्धन भन्या ?

पत्रकारः यसमा माओवादी र नेकपा एस पनि छन् नि त ?

ओलीः त्यो गठबन्धन वाम गठबन्धन हो त ? यिनीहरु बाम हुन् ?

पत्रकारः अब नकेपा एस एमालेसँग जोडिने कति सम्भावना हुन्छ पछिल्लो गतिविधि हेर्दा ?

ओलीः पोहोर फुट्या होइन ?

पत्रकारः हो। हो।

ओलीः उहाँहरुले सोध्नुभएन हामीलाई फुट्ने बेलामा ।

पत्रकारः अहिले विभिन्न मञ्चमा बोलिराख्नुभएको छ नि ।

ओलीः मञ्चका कुरा बेग्लै हुन् । अहिले त्यस्तो केही छैन । अहिले हामी आफ्नो काममा छौं ।

पत्रकारः प्रस्ताव आयो भने ?

ओलीः कार्यकर्ताहरुलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं ।

पत्रकारः आए भने स्वागत गर्नुहुन्छ ?

ओलीः स्वागत भन्ने शब्द बढ्तै हुन्छ कि । पार्टीमा आउन सक्नुहुन्छ ।

पत्रकारः स्वागत चाहिँ गर्नुहुन्न ?

ओलीः स्वागत भनेको के ? गेट बनाउनु भनेको ? त्यस्तो चलन छैन नि हाम्रो ।

अर्को प्रसंग

पत्रकारः तपाईंहरुले कस्तो संविधान बनाउनुभयो ? प्रधानन्यायाधीशको महाअभियोग तीन महिनासम्म टुंगो लागेको छैन । प्रहरीको आईजीपीमा त्यस्तै छ ।

ओलीः मैले के गर्ने त ?

पत्रकारः त्यसमा हजुर पनि हुनुहुन्थ्यो नि त ?

ओली: केमा ? महाभियोग लगाउनेमा ?

पत्रकार: होइन संविधान बनाउनेमा ।

ओली: संविधान त कार्यान्वयन गरे न हुन्छ । त्यसलाई डिस्टोर्सन गर्‍यो भने, बङ्ग्यायो भने त बेग्लै कुरा हो ।

पत्रकारः बङ्ग्याएकै हो ।

ओलीः हो त । बङ्ग्याएकोमात्र होइन संविधान तोडमोड, भाँचकुच, च्यातचुत धेरै कुरा भाका छन् ।

पत्रकारः तर प्रमुख प्रतिपक्षी दलका पनि त दायित्व हुन्छ नि यसलाई सीधा पार्ने ।

ओलीः त्यो हामी गर्दैछौं । एकै दिनमै सीधा हुँदैन । विस्तारै हुन्छ ।

पत्रकारः हिजो तपाईंलाई संविधान तोडमोड गरेर प्रतिगमन गरेको आरोप लागेको थियो, अहिले त्योभन्दा पनि बढी भएको हो ?

ओली: तपाईंहरु विचार गर्नुहुन्छ कि हल्लाको पछि कुद्नुहुन्छ ? प्रतिगमन भनेको देउवाले संसद विघटन गराउनुभो, चुनाव नगरी प्रजातन्त्र दरबारमा बुझाउनुभो, त्यो प्रतिगमन हो । प्रतिनिधिसभाको नयाँ चुनाव गर्नु भनेको, नयाँ संसद बन्नु भनेको प्रतिगमन हुँदैन । अब चुनाव हुँदैछ, प्रतिगमन हो त्यो ? अर्को प्रतिगमन भनेको माओवादीको सरकार थियो । माओवादीले संविधान बनाउनका लागि संविधानसभा बनाएको थियो । संविधान नबनाइकन विघटन गर्‍याे । चुनाव गराएन । देश अस्तव्यस्त बनायो । यति कृत्रिम बाटोबाट हामीले अर्को संविधानसभा चुनाव गरायौं । त्यस्तोलाई भन्छ प्रतिगमन ।

नेकपा एसले मन्त्रीहरु फेरबदल गर्न नसकेको प्रसंग

ओलीः उनीहरुले पार्टी छाडिदिन्छौं भने । प्रमलाई गएर हामीलाई राख्नुस् न तपाईंंको पार्टीमा आउँछौं भने । त्यसपछि पार्टीले निर्णय गर्‍याे । तर पार्टीले निकालेका मान्छेलाई प्रधानमन्त्रीले कायम राखे । पार्टी निरीह बिचरा । निकालेका मन्त्री झण्डा हालेर आए । पार्टी हेरेर बस्यो । चिया खाँदै खुइय गरे । पार्टीका हालत तिनै न छन् । पार्टीले मन्त्री निकाल्यो तर मन्त्री निस्केनन् । डिसअर्डर हेर्नुस् न ।

पत्रकारः अब हजुरको प्रधानमन्त्री कार्ड चल्छ त ?

ओली: हँ ? के भन्या त्यो ?

पत्रकार: तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको कुरा आइराख्या छ नि ?

ओलीः मैले त सुन्या छैन ।

पत्रकार: प्रचण्ड, माधव नेपालले भनिरहनुभएको छ हामीलाई प्रधानमन्त्रीको अफर आयो भनेर ?

ओली: ए भन्नुभएको छ ? को हुने हुनुभएछ त ? केमा कुरा मिलाउनुभयो रे ?

पत्रकार: तपाईंहरुले अफर गर्नुभएको होइन ?

ओली : हामीले त भन्या छैनौं ।

एमसीसीको सन्दर्भ

पत्रकार: एएमसीसी पास हुनेवित्तिकै अमेरिकाका कर्णेल नेपाल आए । यसैका लागि एमसीसी पास गराउनुभएको हो ?

ओली: एमसीसी पास हुँदा तपाईं विदेशतिर जानुभएको थियो कि नेपालमै हुनुहुन्थ्यो ? प्रचण्डजी, माधव नेपालजी होइन पास। पास। भनेर हात उठाउने ? उहाँहरुलाई सोध्नुस् न ।

पत्रकार: तपाईंहरुले पनि त विरोध गर्नुभएन नि ?

ओली: हामीलाई त संसदीय प्रक्रियामा सामेल हुनै दिइएको थिएन । अभ्यासमा सामेल हुनै दिइएको थिएन ।

चुनावी परिणामबारे

पत्रकारः हजुरहरुले भनेजस्तो स्थानीय तहको परिणाम आएन । अब के हुन्छ संघको चुनावमा ?

ओली: स्थानीय चुनावको कुरा बेग्लै हो । यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन । स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं । ६ दल मिले । कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो । धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्‍यौं होला, तर हाराहारीको स्थितिमा छ । पपुलर भोटमा फेरि पनि अगाडि छौं । एमाले एमाले नै हो ।

पत्रकारः अब आउने निर्वाचनमा के होला ?

ओलीः अब आउने निर्वाचनमा नेपाली जनताले एमालेलाई अत्यधिक मतका साथ जिताउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर