स्थानीय तहमा २१–२८ वर्षे समूहको आक्रामक इन्ट्री, ४१ प्रतिशत जनप्रतिनिधि युवा – Nepal Press

स्थानीय तहमा २१–२८ वर्षे समूहको आक्रामक इन्ट्री, ४१ प्रतिशत जनप्रतिनिधि युवा

काठमाडौं । २१ वर्षीया आरती सुनार काठमाडौं महानगरपालिका वडा नम्बर ५ को दलित महिला सदस्य निर्वाचित भइन् । कानूनले २१ वर्षभन्दा कम उमेरका लागि स्थानीय तहमा उम्मेदवार बन्न रोकेको छ ।

कानून बमोजिमको उमेर पूरा भएकै बेला आरतीलाई नेकपा एमालेले सदस्यको उम्मेदवार बनायो र उनले विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार रमा नेपालीलाई ३८ मत अन्तरले पराजित गरिन् ।

आरती सुनारजस्तै स्थानीय तहको सदस्य विशेषगरि दलित महिलामा २१ देखि ३० वर्ष उमेर समूहका युवाहरुको ठूलो उपस्थिति छ । यसपटक सदस्यमात्र होइन स्थानीय तहका प्रमुख र उपप्रमुख जस्ता मुख्य पदमा पनि युवाहरुको प्रतिनिधित्व बढेको छ ।

२६ वर्षकी अस्मिता थापा नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुँदा प्रमुख र उपप्रमुख पदमा प्रदेश १ कै कान्छी जनप्रतिनिधि बनिन् । उनको गाउँपालिकामा अध्यक्षमा एमालेका उम्मेदवार पराजित हुँदा उपाध्यक्षमा भने उनले पाएको मत विपक्षी कांग्रेस,माओवादी,एकीकृत समाजवादीसहित सबै उम्मेदवारको मत जोड्दा पनि बढी हुन्छ ।

बैतडीको सुर्नया गाउँपालिका उपाध्यक्ष जितेकी मन्जु महरा पनि प्रदेशकै कान्छी उपप्रमुख हुन् । २४ वर्षीया महराले कांग्रेसबाट उपाध्यक्ष जित्दा अध्यक्ष भने एमालेले जितेको छ । यसबाट के देखिन्छ भने जनताले यसपटक युवा उम्मेदवार रुचाए ।

निर्वाचन आयोगका अनुसार यसपटक सबैभन्दा कान्छा जनप्रतिनिधि आरती सुनार,बझाङका सर्जनकुमार थापा र बशिष्ट कुमार हुन् । उनीहरु तीनैजना २१ व्र्षका हुन् । २१ वर्षिय वशिष्ट कुमार जनता समाजवादी नेपालबाट पर्साको कालिकामाई गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै डडेल्धुराको पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जोशी विजयी भएका छन् भने नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्षमा २८ वर्षीय दिपेन्द्र सुनारी एमालेबाट अध्यक्षमा निर्वाचित भएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षिय राजाबाबु यादव निर्वाचित भएका छन्

तीस वर्ष कम उमेर समूहका जनप्रतिनिधिहरुको राम्रो उपस्थिति यसपटक देखिएको छ । आयोगका अनुसार ४० वर्षमुनीका युवाहरुको प्रतिनिधित्व ४९ प्रतिशत देखिएको छ । यीमध्ये अधिकांश नयाँ अनुहार हुन् । अघिल्लोपटक कान्छी उपमेयर बनेकी कपिलबस्तुको शिवराज नगरपालिकाकी शिवकुमारी थारु यसपटक पनि निर्वाचित भइन् । २२ वर्षमा उपमेयर बनेकी थारु अहिले २७ वर्षकी भइन् ।

स्थानीय चुनावले निर्वाचित गरेका सबैभन्दा पाका जनप्रतिनिधि हुन् राम पदारथ साह तेली । ८० वर्षिय तेली नेपाली कांग्रेसको तर्फबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । निर्वाचित पाका प्रतिनिधीकै सुचीमा पर्ने अर्का प्रतिनिधी हुन ७८ वर्षीय रामआश्रय साह । उनी सर्लाहीकै धनकौल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । यसै गरी झापाको हल्दीवारी गाउँपालिकाकी उपाध्यक्षको रुपमा ७७ वर्षिया लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् ।

धनुषाको कमल नगरपालिका– ९ मा नेपाल जनता पार्टीका रणवीरसिंह मण्डल र बझाङको जयपृथ्वी नगरपालिका–११ मा एमालेका सर्जनबहादुर थापा पनि २१ वर्षमै वडाध्यक्ष चुनिएका छन् ।

२१ देखि ३० वर्ष समूहका ९ जना स्थानीय तहको प्रमुखमा निर्वाचित भएका छन । सप्तरीको छिन्नमस्त गाउँपालिकामा लोकतान्त्रिक समाजवादीका २५ वर्षीय विद्यानन्द चौधरी, रौतहटको कटहरिया नगरपालिकामा कांग्रेसका २९ वर्षीय अजय प्रकाश, रौतहटको राजपुर नगरपालिकामा कांग्रेसका २७ वर्षीय मोहम्मद राजिक आलम पनि यसमा पर्छन् ।

त्यसो त काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा समेत ३२ र २९ वर्षका युवालाई मतदाताले रोजेका छन् । यसपटक युवाहरुको सफलताले दलहरुलाई आगामी चुनावमा पनि युवालाई अघि सार्न दबाब भने बढेको छ । यसपटक ४१ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित भएर आएका छन् ।

राष्ट्रिय युवा परिषदका पूर्व उपाध्यक्ष माधव ढुंगेल स्थानीय तहको निर्वाचनले युवा उम्मेदवारलाई रुचाएको र सफल पनि बनाएको बताउँछन् । मतदाताको रोजाइ नयाँ र युवामा देखिएको कारण युवा उम्मेदवारले बढी जितेको तथ्यांकले देखाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता नैनसिंह महर पछिल्लो स्थानीय चुनावले दलहरुलाई धेरै पाठ सिकाएको र युवा मनोविज्ञानलाई बुझेर उम्मेदवार तय गर्न दबाब समेत बढेको बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर