राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित ४ जनाविरुद्ध मुद्दा – Nepal Press

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं । तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध उजुरी परेपछि उजुरीमाथी छानबिन गर्दै आयोगले बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतमसहित ४ जना विरुद्ध पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएका विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति दिएको भन्दै आयोगमा उजुरी परेको थियो । बिहीबार विशेष अदालत काठमाडौंमा आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्तासमेत रहेको उपसचिव वेदप्रसाद भण्डारीले जानकारी गराएका हुन् ।

उनका अनुसार बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमले पदपूर्ति संयोजक रहेर न्यूनतम शैक्षिक योग्यता हेर्ने, जाँच्ने सम्बन्धमा पर्याप्त सावधानी अपनाउनु पर्नेमा तोकिएको न्यूनतम शैक्षिक योग्यता नमिल्ने व्यक्तिको दरखास्त फारम स्वीकृत गर्ने र गर्न आदेश दिने काम गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै दरखास्त स्वीकृत गर्ने कर्मचारीले उल्लेखित शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाइछिपाइ योग्यता नपुगेका आवेदकको दरखास्त फारम ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेर भ्रष्टाचार निवारण ऐनको दफा १९ को उपदफा २ बमोजिमको कसुर गरेको आयोगले दाबी गर्दै आरोप पत्र दायर गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *