गीतकाे छायांकन गर्न ललितपुरकाे श्रीकाली चौरमा ‘झिँगेदाउ’को टिम – Nepal Press

गीतकाे छायांकन गर्न ललितपुरकाे श्रीकाली चौरमा ‘झिँगेदाउ’को टिम

काठमाडाैं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘झिँगेदाउ’को एक गीतबाहेकको छायांकन कोरोना महामारी अगाडि नै सकिएको थियो । निर्देशक देउजाले गीतबाहेकको पोष्ट-प्रोडक्सनको काम पनि सकाइसकेका छन् ।

केही दिनयता निर्देशक देउजा ललितपुरकाे श्रीकाली चौरमा सिनेमाको बाँकी रहेको एक गीतको छायांकन गरिरहेका छन् । बुधबार सिनेमाको इन्डक्ल्याप राखिएको थियो । तर, वर्षातका कारण छायांकन लम्बिएकाे छ । निर्देशक देउजाले सिनेमाको गीतमा मात्रै १५ लाख बढी खर्च भएको बताए ।

सिनेमाको कथाको डिमाण्डअनुसार कुनै पनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा सिनेमाको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । सिनेमा आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।

सिनेमामा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा सिनेमाका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुसाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मीठो भएको हुँदा भिडियोमा पनि सोहीअनुसार मेहनत गरिरहेको सुनाए । ‘ए माया तिमीविना जीवन चल्दैन’ बोलको गीतमा प्रवीन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित छ । प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । सिनेमाकाे निर्माता सुलभ, समीक्षा र सुशील रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर