मकवानपुर जिसस : सहमति तोड्ने कांग्रेसको संकेतपछि माओवादीले दियो वाम तालमेलको चेतावनी – Nepal Press

मकवानपुर जिसस : सहमति तोड्ने कांग्रेसको संकेतपछि माओवादीले दियो वाम तालमेलको चेतावनी

हेटौंडा । एमालेविरुद्ध पाँचदलीय गठवन्धन बनाएर स्थानीय निर्वाचन लडेको गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग निर्वाचन अघि गरेको सहमति तोडेर जिल्ला समन्वय समितिको प्रमुखमा दाबी गरेपछि मकवानपुरमा वाम तालमेलको सम्भावना बढेको छ ।

स्थानीय तहको निर्वाचनअघि भएको सहमतिमा समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्रलाई दिने भनिए पनि निर्वाचनपश्चात कांग्रेसले उक्त सहमति तोड्ने संकेत गरेको छ । जेठ २४ मा कांग्रेसले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि जिल्लाको ठूलो दल भएको हैसियतमा समन्वय समितिको प्रमुखमा आफूहरूको दाबी रहेको जनाएपछि नेकपा माओवादी केन्द्र झस्किएको हो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले जिल्लाको ठूलो दल भएको भन्दै समन्वय समितिको प्रमुखमा कांग्रेसको स्वाभाविक दाबी रहेको बताएका थिए ।

नेपाली कांग्रेसले जिल्लाको १० स्थानीय तहमा ५ अध्यक्ष, ४ उपाध्यक्षसहित ९ जना पदाधिकारी जितेपछि जिल्लामा कांग्रेस पहिलो दलको हैसियतमा उक्लिएको थियो । दोश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २ प्रमुख सहित ५ उपाध्यक्ष गरि ७ पदाधिकारी जितेको थियो । नेकपा एमालेले २ प्रमुख र १ उपाध्यक्ष सहित ३ तथा नेकपा एकिकृत समाजवादीले १ प्रमुख जितेको थियो ।

२० पदाधिकारी रहेको माकवानपुरमा कांग्रेस ९, माओवादी केन्द्र ७, एमाले ३ तथा समाजवादीको १ जना विजयी भएपछि कांग्रेसले सहमति तोड्ने संकेत गरेको हो ।

नेपाल प्रेसँग कुरा गर्दै नेकपा माओवादी केन्द्र मकवानपुरका नेता तथा वागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले आफूहरूले पनि नेपाली कांग्रेसको पत्रकार सम्मेलनबारे समाचार माध्यमबाट थाहा पाएको बताए ।

उनले भने ‘२० जना सदस्य रहेको जिसस निर्माणको लागि उहाँहरूको (९) जनाले त बहुमत पक्कै नपुग्ला नि, हामीलाई के आश छ भने उहाँहरूले एक्लै जाने निर्णय गर्नुहुन्न, प्रमुखमा हाम्रो दावी न्यायोचित छ ।’

उनले कांग्रेसले एक्लै जाने मानसिकता बनाइसकेको भए आफूहरूले अर्को बाटो सोच्नुपर्ने र त्यो वाम एकता हुने बताए । ‘राजनीतिमा हरेक संभावनाहरु हुन्छन्, कांग्रेसले संभावनाको ढोका बन्द गरेको अवस्थामा हामीहरुले पनि त नयाँ ढोका खोल्नु पर्छ होला नि ? उनले भने ।
मकवानपुरमा वाम एकता भए ११ जना सदस्यहरु हुने र त्यो जिसस निर्माणको लागि पर्याप्त हुनेछ ।

जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

जिल्ला समन्वय समिति मकवानपुरमा ९ सदस्य समिति गठन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सदस्य संख्या निर्धारण गर्ने सन्दर्भमा भएको सातौं विशेष जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

जेष्ठ सदस्य एवम् ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा भएको सभाले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन आयोगमा अनुरोध गरी पठाउने निर्णय गरेको जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए ।

जिससमा प्रमुख/उपप्रमुख र सात जना सदस्य समितिमा रहनेछन् । निर्वाचन मिति भने तय गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर