वरिष्ठ चलचित्रकर्मीलाई विमानस्थलमा भीभीआईपी कक्षको सुविधा दिन गृहलाई पर्यटन मन्त्रालयको पत्र – Nepal Press

वरिष्ठ चलचित्रकर्मीलाई विमानस्थलमा भीभीआईपी कक्षको सुविधा दिन गृहलाई पर्यटन मन्त्रालयको पत्र

गृहले निर्णय गर्न बाँकी

काठमाडौं । लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशील वरिष्ठ कलाकारहरुलाई विदेश यात्रा गर्दा विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न दिने तयारी भएको छ । पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरी यस्तो सुविधा दिन आग्रह गरेको हो ।

चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते पर्यटन मन्त्रालयलाई यस विषयमा पत्राचार गरेको थियो । एक वर्षदेखि यत्तिकै थन्किएको उक्त पत्रलाई पर्यटनमन्त्री प्रेम आलेले सुनुवाइ गरेका हुन् । उक्त पत्रमा विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई ‘फिल्म इम्पोर्टेन्ट पर्सन’ को रुपमा विदेश प्रस्थान गर्दा र फर्किँदा विमानस्थलको अति विशिष्ट/विशिष्ट कक्ष प्रयोग गरी आवतजावत गर्न दिने व्यवस्थाका निम्ति समन्वय गर्न पर्यटन मन्त्रालयलाई आग्रह गरिएको थियो ।

सोहीबमोजिम मन्त्रालयका शाखा अधिकृत प्रवीनहाङ योङहाङले गृह मन्त्रालयलाई २४ जेठमा पत्र पठाएर यस सम्बन्धमा आवश्यक व्यवस्थाका लागि आग्रह गरेका छन् ।

यस विषयमा गृह मन्त्रालयले भने निर्णय लिइसकेको छैन । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पर्यटनको पत्रबारे आफूलाई जानकारी नरहेको बताए ।

‘दैनिक थुप्रै पत्र आउँछन् । त्यो पनि आएको होला । मैले हेर्न पाएको छैन । यो विषयमा कुनै निर्णय पनि भएको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर