प्रदेश १ नामाकरणमा सहजीकरण गर्न एमालेले बनायो समिति – Nepal Press

प्रदेश १ नामाकरणमा सहजीकरण गर्न एमालेले बनायो समिति

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नामाकरणको सहजीकरणका लागि समिति गठन गरेको छ ।

दलको आज बसेको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा प्रदेश नामाकरण समिति गठन गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए ।

समितिको सदस्यहरूमा पूर्वसामाजिक विकासमन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश प्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेका छन् ।

उक्त समितिले प्रदेश १ को नामको विषयमा आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउने र चालू बजेट अधिवेशनभित्रै प्रदेशको नामाकरण गर्न पहल गर्ने जनाइएको छ ।

प्रदेश १ सरकारले ठूलो दल भएको नाताले प्रदेशको नामाकरणका लागि आवश्यक सहजीकरणका लागि नेतृत्व लिन एमालेलाई आग्रह गरेको थियो । वर्षे अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले एमाललेलाई प्रदेशकबो नामाकरणको सहजीकरणका लागि आग्रह गरेका थिए ।

प्रदेश सरकारको तर्फबाट यसअघि नै नामाकरणको प्रयासका लागि स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति गठन गरेको थियो ।

नाम टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएका कारण सत्ता पक्षले आफूहरूसँग रहेको सामान्य बहुमत अपर्याप्त हुने भएपछि एमालेको भूमिका खोजी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर