दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले विजयी – Nepal Press

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले विजयी

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार नमराज शाही विजयी भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् । उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ ९ मतमा रोकिइन् ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एसकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सदस्यहरूमा भने मिश्रित नतिजा आएको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामीछानेले बताए ।

को हुन शाही ?

२०५८ साल देखि २०६१ सालसम्म माओवादी ज्यादतीका कारण घरबार छोडेर बाहिर बस्न बाध्य भएका काँग्रेस जिल्ला उपसभापति शाही इमान्दार नेताको रुपमा चिनिदै आएका छन् ।

२०४६ सालदेखि नै कांग्रेसमा आबद्ध भएका शाही आफ्नै दलभित्रको समूहका कारण हालसम्म सरकारी लाभको पदमा पुग्न पाएका थिएनन् । २०७४ सालको निर्वाचनमा आठबीस नगरपालिका वडा नं. ७ बाट नेपाली कांग्रेसको वडाअध्यक्षको उम्मेदवार बन्न चाहेपनि उनले टिकट पाएनन् ।

यसपटक उनले जिल्ला समन्वय समितिको प्रमुख बन्नकै लागि वडा सदस्यमा उम्मेदवारी दिएका थिए भने उनले यसपटक निर्वाचनसमेत जिते । तर जिल्ला समन्वय समितिको प्रमुख बन्न खोज्दा पार्टी भित्रैकाले असहयोग गरेको भन्दै उनले एमालेसँग सहकार्य गरेर गठबन्धनलाई चुनौती दिएका थिए ।

गाउँ कार्य समिति, क्षेत्रीय प्रतिनिधि, दुईपटक क्षेत्रीय सदस्य भइसकेका नेता शाही यसपटक महाधिवेशन प्रतिनिधिमा लडेपनि पराजित हुन पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर