कुकुर तिहारलाई किन अन्तर्राष्ट्रियकरण गर्न खोज्दैछन् मेयर बालेन्द्र ? – Nepal Press

कुकुर तिहारलाई किन अन्तर्राष्ट्रियकरण गर्न खोज्दैछन् मेयर बालेन्द्र ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिजो फ्रान्सका राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गरे । उक्त भेटवार्तामा निस्केको एउटा प्रसंगले सञ्चारमाध्यममा महत्व पाएको थियो । त्यो हो- नेपालमा मनाइने गरेको कुकुर तिहार फ्रान्समा पनि मनाउन मेयर साहले गरेको आग्रह ।

स्थानीय चुनावअघि विभिन्न अन्तर्वार्ताहरुमा साहले नेपालको कला-संस्कृतिलाई विश्वभर फैलाउनुपर्ने कुरामा बारम्बार जोड दिएका थिए । मेयरमा निर्वाचित भएपछि आफ्नो पूर्वप्रतिबद्धताहरुमा इमानदार देखिएका उनी नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रियकरणको प्रयासमा अघि बढेका छन् । यही सिलसिलामा उनले फ्रान्सेली दूतसँग भेटेका हुन् ।

उक्त भेटमा बालेनले नेपालमा मनाइने कुकुर तिहार यसपालिबाट अन्य देशहरुमा पनि विस्तार गर्न चाहेको भन्दै फ्रान्समा पनि मनाउन राजदूतलाई आग्रह गरेका थिए । तर, धेरैकाे मनमा उब्जेको प्रश्न हो, नेपालमा अरु थुप्रै ठूला र महत्वपूर्ण चाडपर्वभन्दा कुकुर तिहारलाई साहले किन महत्व दिए ? कतिले कुकुर तिहार भनेर देउसी-भैलोलाई प्रवर्द्धन गर्न खोजेको अनुमान पनि गरेका छन् । तर, त्यस्तो होइन ।

मेयर बालेन्द्रका निकट सहयोगी कुमार बेनका अनुसार घरमा कुकुर पाल्ने चलन संसारभर रहेको हुँदा कुकुर पूजालाई अन्तर्राष्ट्रियकरण गर्ने सोच राखिएको हो । उनी भन्छन्, ‘सबै देशको आआफ्नो धर्म-संस्कृतिहरु हुने हुँदा नेपालका अरु चाडपर्वहरुको अन्तर्राष्ट्रियकरण गर्न सम्भव नहुन सक्छ । तर, कुकुर त सबैतिर पालिन्छ । कुकुरको पूजा गर्ने अवधारणा चाहिँ नेपालको मौलिक हो । त्यसैले कुकुर तिहारलाई पहिलो प्राथमिकतामा राखिएको हो ।’

उनले यस विषयमा अन्य देशका राजदूतहरुसँग पनि छलफल अगाडि बढाउने जानकारी दिए । बेनका अनुसार आजै चिनियाँ प्रतिनिधिहरुसँग पनि मेयर साहले नेपालको कला-संस्कृतिको प्रवर्द्धनका विषयमा कुराकानी गरेका छन् ।

साहले चुनावअघि ल्याएको घोषणापत्रमा नै कुकुर तिहार र म्हः पूजाको अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर